यादवप्रसाद धिताल
आँखा नदेख्नेले त लगाए लगाए
आँखा देख्नेले पनि लगाए
टाउकोमाथि गोरुआँखे चश्मा लगाए
कसैले नाकको पोरामा झुण्ड्याएर लगाए
कसैले तिलहरी पोतेझैं चश्मा लगाए ।
कोहीले राम्रो देखिनँ बगलीमा लगाए
कोहीले सर्टको बटममा झुण्ड्याएर लगाए
दूरदृष्टिका लागि लगाए कोहीले
कु दृष्टिका लागि पनि लगाए कोहीले
लाउने, नलाउने हजारौंले चश्मा लगाए ।
कालो, रातो, हरियो लगाए कोहीले
आफ्नो मुहार भन्दा पनि ठूलो लगाए कोहीले
रंङ्गविरङ्गका चश्मा लगाए
विशेश्वरको दोषी चश्मा
यादव धितालको झन् महादोषी चश्मा
लाउने, नलाउने हजारौं चश्मा लगाए ।