काठमाडौं । साहित्यकार बीडी त्यागीको स्मृति दिवसको अवसरमा प्रदान गरिँदै आएको ‘बीडी त्यागी सम्मान पुरस्कार २०८३’ का लागि विभिन्न विधाका स्रष्टा तथा व्यक्तित्व चयन गरिएको छ।
फागुन ३० गते शनिबार बीडी त्यागी स्मृति केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रतिभा चयन समितिको सिफारिसलाई अनुमोदन गरेको हो। प्रतिभा चयन समिति उपन्यासकार शङ्कर भारतीको संयोजकत्वमा गठन गरिएको थियो भने सदस्यमा साहित्यकार त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटे रहेका थिए।
समितिको सिफारिस अनुसार साहित्यकार नभए पनि साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति वा संस्थालाई प्रदान गरिने ‘नेपथ्य सम्मान’ यस वर्ष गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई अर्पण गरिने भएको छ।
त्यसैगरी ‘बीडी त्यागी योगदान सम्मान’ वरिष्ठ साहित्यकार तथा फित्कौली का प्रधान सम्पादक नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ।
‘बीडी त्यागी स्मृति सम्मान’ साहित्यकार तथा पत्रकार महेन्द्र चालिसेलाई अर्पण गरिनेछ।
त्यस्तै एक सय एक रुपैयाँको सिक्का सहित प्रदान गरिने ‘बीडी त्यागी स्मृति पुरस्कार’ हास्यव्यङ्ग्यकार देवीप्रसाद चापागाईंलाई प्रदान गरिने भएको छ भने ‘बीडी त्यागी प्रतिभा सम्मान’ साहित्यकार तथा पत्रकार प्रदीप सापकोटालाई प्रदान गरिने निर्णय गरिएको छ।
स्रष्टाको सफलतामा जीवनसाथीको महत्वपूर्ण भूमिका रहने भए पनि उनीहरू प्रायः ओझेलमा पर्ने अवस्थालाई ध्यानमा राख्दै केन्द्रले यस वर्षदेखि ‘गौरी त्यागी स्रष्टा जीवनसाथी सम्मान’ थप गरेको छ। पहिलो पटक उक्त सम्मान स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ का जीवनसाथी ललिता श्रेष्ठलाई प्रदान गरिने भएको छ।
सम्मानलाई अमूल्य बनाउने मान्यताअनुसार यी सम्मानहरूमा नगद राशि राखिएको छैन। उक्त सम्मानहरू आगामी बैशाख १९ गते बीडी त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा अर्पण गरिने बीडी त्यागी स्मृति केन्द्रका महासचिव तथा साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी दिएका छन्।जीवनभर साहित्यिक लेखनमा सक्रिय रहे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बीडी त्यागीको वि.सं. २०६० साल बैशाख १९ गते निधन भएको थियो।

