काठमाडौं, साउन ९ – संस्कृतिका प्रखर अध्येता श्री निरणकुमार राजबंशीद्वारा लिखित पुस्तक ‘जल संस्कृति र सम्पदा’ को लोकार्पण समारोह राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश सुरस श्रेष्ठले गर्नुभएको थियो।
समारोहका प्रमुख अतिथि संस्कृति शिरोमणि श्री हरिराम जोशी रहनु भएको थियो भने विशेष अतिथिका रूपमा प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठ र शहरी विकास विज्ञ पद्मसुन्दर जोशीको उपस्थिति रहेको थियो। अतिथिहरूले लेखक राजबंशीद्वारा प्रस्तुत गरिएको यस कृतिले नेपालको जलसँग जोडिएको परम्परा, संस्कार र सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
प्रमुख अतिथि श्री हरिराम जोशीले जलसँग सम्बन्धित संस्कृति र सम्पदाको संरक्षणमा यस्ता कृतिहरूले प्रेरणा दिने बताए। विशेष अतिथि डा. श्रेष्ठले परम्परागत जल व्यवस्थापन प्रणालीहरूलाई आधुनिक योजनासँग जोड्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सङ्ग्रहालय, छाउनीकी प्रमुख अरुणा नकर्मीले दिएकी थिइन्। उनले लेखकको अनुसन्धानमूलक पुस्तक सङ्ग्रहालयका लागि सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरिन्।
सो अवसरमा स्टार एक्सप्रेस साप्ताहिक र श्रृङ्खला साप्ताहिक मासिक पत्रिकाका प्रधान सम्पादक प्रविण जोशी र सम्पादक शिवकुमार श्रेष्ठले प्रमुख अतिथि श्री हरिराम जोशीलाई बधाई ज्ञापन गर्दै सम्मानपत्र पनि समर्पण गरेका थिए।
कार्यक्रममा संस्कृतिप्रेमी, साहित्यकार, अनुसन्धानकर्ता र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

