-लक्ष्मण उप्रेती
नेपालले आफ्नो समकालीन इतिहासको महत्त्वपूर्ण चरण पार गर्दैछ। लामो संघर्षपछि आएको लोकतान्त्रिक गणतन्त्र, संघीयता र संविधान निर्माणका उपलब्धिहरू जनअपेक्षाअनुसार कार्यान्वयन हुन नसकि दलाल पूजीवादी सत्तामा रुपान्तरण भएका कारण देश राजनीतिक अस्थिरता, दिशाहीनता र जनतामा बढ्दो निराशातर्फ अग्रसर भइरहेको छ।
यस पृष्ठभूमिमा नयाँ पुस्ता,विशेषतः युवा वर्ग ; को भूमिका निर्णायक बन्दै गएको छ। विगतका हरेक परिवर्तनमा युवाहरू अग्रपङ्तिमा रहेर आन्दोलित भएतापनि, अहिले उनीहरूको ऊर्जा, चेतना र शक्ति दिशाविहीन रूपमा विकेन्द्रित हुँदै गएको देखिन्छ।
यही सन्दर्भमा,नयाँ पुस्ताको वर्तमान अवस्था,चेतना,चुनौती र क्रान्तिकारी सम्भावनाबारे सहि विश्लेषण गर्नु आजको ऐतिहासिक आवश्यकता हो।
१. राजनीतिक परिदृश्य ; क्रान्तिबाट सम्झौतासम्म:-
नेपालको राजनीतिमा पछिल्ला दुई दशक निर्णायक र महत्वपूर्ण रहे,२०४६ को जनआन्दोलन,२०५२–२०६२ को जनयुद्ध र २०६२/६३ को सम्पन्न दोस्रो
जनआन्दोलनले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो।तर, ती संघर्षका उपलब्धिहरू आफ्नै नेतृत्वद्वारा पतनतर्फ धकेलिएका छन्।र दलाल पुजीवादी सत्तामा फेरिएको छ।क्रान्तिकारी मूल्यमान्यता हराउँदै गएका छन्,।दलहरू गुट र भागबन्डाको थलो बनेका छन्,सामन्तवाद र दलाल पुँजीवादसँग साँठगाँठ गरेका पात्रहरू पुनः शासनका केन्द्रीय भागमा उभिएका छन्।यस स्थितिमा जनतामा निराशा फैलिएको छ र नयाँ पुस्ता मौन र कयौं विरोध, वैकल्पिक खोज वा निष्क्रियताको बाटोमा उभिएको देखिन्छ।
२. नयाँ पुस्ताको उकालो यात्रा:-
क) सचेतनाको नयाँ उचाइ
नयाँ पुस्ता आज शिक्षित,सूचना प्रवाहमा सजग र संसारसँग जोडिएको पुस्ता हो।उनीहरू परम्परागत विचार,नेतृत्व र प्रणालीप्रति प्रश्न उठाउँछन्,धर्म,जात, लिङ्ग,वर्गलगायत बहु-विषयगत प्रश्नहरूमा चिन्तनशील छन्।तर, उनीहरूको चेतना सङ्गठित क्रान्तिकारी चेतनामा रूपान्तरित भइसकेको छैन।
ख) डिजिटल स्पेसमा राजनीतिक मुठभेट:-सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, टिकटक) नयाँ पुस्ताकोअभिव्यक्तिको प्रमुख माध्यम बनेको छ।बहस,व्यंग्य,समाचार विश्लेषणदेखि राजनीतिक आक्रोश यिनै माध्यमबाट फैलिन्छ।तर, यो प्रवृत्ति व्यक्तिगत प्रतिक्रिया र भावनात्मक आक्रोशसम्म मात्र सीमित छ, वैचारिक कार्यक्रम, क्रान्तिकारी संगठन वा सामूहिक प्रतिरोधमा परिणत भएको छैन।
ग) नेतृत्वविहीन सक्रियता:-स्वतन्त्र
उम्मेदवारहरू,नागरिक आन्दोलन,महिला तथा जातीय अधिकार आन्दोलनहरूमा नयाँ पुस्ताको उपस्थिति प्रशंसनीय छ तर,नेतृत्व,संगठन,दीर्घकालीन रणनीति र वैचारिक स्पष्टतामा कमजोरी देखिन्छ।
३. प्रमुख चुनौतीहरू:-
क) वैचारिक अस्पष्टता र दिशा बिहिनता :-
नयाँ पुस्ता ‘राजनीतिक’ छ, तर प्रायः राजनीति र क्रान्तिको अन्तर नबुझ्ने अवस्थामा छ।वर्गसंघर्ष, उत्पादन सम्बन्ध, राज्यसंरचना जस्ता मूलभूत प्रश्नमा गम्भीर अभाव छ।
ख) सांस्कृतिक विच्छेदन:-
पुस्तान्तरणमा क्रान्तिकारी अनुभव, अध्ययन र प्रशिक्षणलाई निरन्तरता दिन नसकिएकोले नयाँ पुस्ता संघर्षको वास्तविक जगबाट अलग भएको छ।
ग) दलहरूमा अवसरवाद र पुरानो पुस्ताको पकड छ।दलहरू युवालाई नेतृत्वमा ल्याउनेभन्दा पछाडि धकेल्ने संरचनागत प्रवृत्तिमा छन्।पार्टीभित्रको संरचना पितृसत्तात्मक, अधिनायकवादी र गुटबद्ध छ, जसले नयाँ विचारको प्रवेश असम्भवजस्तै बनाएको छ।
४. सम्भावनाहरू ; नयाँ युगको सुरुवात:-
क) वैचारिक पुनर्जागरण र अध्ययन अभियान:-
मार्क्सवाद, लेनिनवाद, माओवाद/बिचारधारा र जनवाद – वैज्ञानिक समाजवादबारे अध्ययनशील पुस्ताको निर्माण अपरिहार्य छ।राजनीतिक शिक्षालाई ‘वैकल्पिक जागरण’ को अभियानका रुपमा अघि बढाउनु पर्छ।
ख) क्रान्तिकारी संगठन निर्माण:-
स्वतन्त्रता र सचेतना केवल अभिव्यक्तिमा सीमित नहोस्, त्यसलाई सङ्गठनमा बदलेर वर्गसंघर्षको पक्षमा उभिनु जरुरी छ।यस्ता संगठनहरूले सांस्कृतिक, शैक्षिक, राजनीतिक र श्रमिक आन्दोलनमा नयाँ पुस्ताको नेतृत्वको विकास गर्नु आवश्यक छ। क्रान्तिकारी नेतृत्वको उत्पादन प्रक्रिया सुरु गर्नुपर्छ।नयाँ पुस्तालाई प्रशिक्षण, अभ्यास र प्रत्यक्ष जनसंपर्कमा लगेर नेतृत्वमा बिकास गर्न सकिन्छ।तल्लो तहदेखि शीर्ष तहसम्म कार्यकर्ता केन्द्रित नेतृत्व उत्पादन नगरेसम्म वैकल्पिक राजनीति सम्भव छैन।
५. निष्कर्ष : इतिहासले बोलाइरहेको छ नयाँ पुस्तालाई;-
नयाँ पुस्ता परिवर्तनको शक्ति हो । तर, त्यो शक्ति यदि अव्यवस्थित, दिशाविहीन वा केवल भावनामा सीमित रह्यो भने त्यसले केही निर्माण गर्दैन।परिस्थितिले नेपालमा फेरि एउटा ऐतिहासिक मोड निर्माण गरिरहेकोछ ।
जहाँ,
– पुराना दलहरू थकित छन्,
– जनअपेक्षा अधुरो छ,
– देश संकटग्रस्त छ।
यस्तो अवस्थामा नयाँ पुस्ताले विद्रोह मात्रै होइन, वैचारिक वैकल्पिक निर्माणको बागडोर समात्नुपर्छ।
त्यसका लागि जनवाद र वैज्ञानिक समाजवादको दिशा, द्वन्द्वात्मक भौतिकवादको दृष्टिकोण र वर्गीय संघर्षको संगठनात्मक आधार अनिवार्य आवश्यक हुन्छ।यदि नयाँ पुस्ताले संगठन, अध्ययन र आन्दोलनको त्रिवेणीलाई आत्मसात् गर्न सक्यो भने,भोलिको क्रान्ति केवल सम्भावना मात्र होइन अनिवार्य अपरिहार्यता हुनेछ।

