काठमाडौं, साउन १० – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) मा आफ्नो पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको टिप्पणी गरेकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यता पहिल्यै नवीकरण भइसकेको स्पष्ट पार्दै यस विषयमा अनावश्यक बहसको कुनै औचित्य नरहेको बताइन्।
“पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण छैन,” पूर्वराष्ट्रपति भण्डारीले भनिन्। उनले राजनीतिक सक्रियता फेरि सुरु गर्ने आफ्नो निर्णयलाई लिएर उठाइएका प्रश्नहरू अस्वीकार गर्दै, आगामी दिनमा अझ स्पष्ट राजनीतिक अभियान अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। उनका पछिल्ला गतिविधिहरूलाई एमाले पार्टीभित्रको आन्तरिक राजनीति र भावी रणनीतिसँग पनि जोडेर हेरिएको छ।

