नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्य संयोजन समिति सदस्य तथा जनसांस्कृतिक महासंघ, नेपालका इन्चार्ज चीरन पुनसँग टपटेनखबरका सम्पादक नन्दलाल खरेलको विशेष अन्तर्वार्ता
प्रश्न १: हालै सम्पन्न जनसांस्कृतिक महासंघ, नेपालको एकता सम्मेलनले के–कस्ता निर्णय गर्यो?
चीरन पुन:
हालै सम्पन्न जनसांस्कृतिक महासंघ, नेपालको एकता राष्ट्रिय सम्मेलनले संगठन निर्माणका दृष्टिले ऐतिहासिक निर्णयहरू गरेको छ। सम्मेलनले कमरेड भीम कुमाखीको संयोजकत्व र कमरेड अष्ट लामाको सहसंयोजकत्वमा २७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। साथै ९१ सदस्यीय सचिवालय र ५१ सदस्यीय कार्यालय पनि चयन गरिएको छ।
सम्मेलनले संगठनको नाम ‘जनसांस्कृतिक महासंघ, नेपाल’ कायम गर्ने, झण्डा तथा लोगो परिमार्जन गर्ने, अन्तरिम विधान र प्रतिबद्धतापत्र पारित गर्ने निर्णय गरेको छ।
यससँगै प्रगतिशील सांस्कृतिक आन्दोलनलाई सशक्त बनाउने, मुखपत्र प्रकाशन गर्ने, प्रगतिशील गीति एल्बम निकाल्ने, भदौ २१ गते जेबी टुहुरे र प्रमोद हमालको स्मृतिमा काठमाडौंमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तथा कार्तिक २८–३० गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि गरिएको छ।
प्रश्न २: यो बृहत् एकताले सांस्कृतिक रूपमा कस्तो सन्देश दिएको छ?
चीरन पुन:
नेपालको कम्युनिस्ट आन्दोलनजस्तै प्रगतिशील सांस्कृतिक आन्दोलन पनि लामो समयदेखि विभाजित अवस्थामा थियो। यसले आन्दोलनलाई कमजोर बनाएको थियो।
हामीले २७ वटा सांस्कृतिक संगठनलाई एउटै छातामुनि ल्याएका छौं। यसले एकताको सशक्त सन्देश दिएको छ। समाजवादी तथा साम्यवादी सांस्कृतिक मूल्य–मान्यता स्थापित गर्न बलियो र एकीकृत सांस्कृतिक आन्दोलन अपरिहार्य हुन्छ। सामन्तवादी, पुँजीवादी र साम्राज्यवादी संस्कृतिको प्रभावलाई चुनौती दिन पनि यही एकता आवश्यक छ।
प्रश्न ३: वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
चीरन पुन:
हाल देशको राजनीतिक अवस्था निकै जटिल छ। राष्ट्रिय स्वाधीनता, जनजीविका, अर्थतन्त्र, बेरोजगारी, मूल्यवृद्धि र युवा पलायनजस्ता समस्या गम्भीर बन्दै गएका छन्।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि पनि चुनौती देखिएको छ। जनतामाथि ऋणको बोझ बढेको छ, सीमाका समस्या समाधान भएका छैनन्। यी सबै कारणले वर्तमान परिस्थिति संवेदनशील र चिन्ताजनक देखिन्छ।
प्रश्न ४: वामपन्थी एकता र कार्यगत एकताको चर्चालाई कसरी लिनुहुन्छ?
चीरन पुन:
तत्काल पूर्ण राजनीतिक एकताको आधार तयार भइसकेको छैन। तर सबै कम्युनिस्ट तथा क्रान्तिकारी शक्तिहरू एक हुनुपर्ने आवश्यकता सबैले महसुस गरिरहेका छन्।
अब पुराना सोच र अभ्यासको समीक्षा गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्छ। जहाँसम्म कार्यगत एकताको कुरा छ, विभिन्न पक्षबीच सकारात्मक संवाद भइरहेका छन् र निकट भविष्यमा त्यसले ठोस रूप लिन सक्ने सम्भावना देखिन्छ।
प्रश्न ५: कम्युनिस्ट आन्दोलनमा देखिएको विभाजनमा नेतृत्वको भूमिका कस्तो देख्नुहुन्छ?
चीरन पुन:
विभाजनमा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ। हाम्रो आन्दोलनमा कतिपय दार्शनिक, वैचारिक र नीतिगत कमजोरीले पनि फुटलाई बढावा दिएको छ।
नेता हुनु र नेतृत्व गर्न सक्नु फरक कुरा हो। नेतृत्वले समयअनुकूल विचार, संगठन र कार्यशैली विकास गर्न सकेन भने आन्दोलन कमजोर बन्छ। त्यसैले वैज्ञानिक, लोकतान्त्रिक र समयसापेक्ष अभ्यास विकास गर्दै संस्थागत पार्टी निर्माण गर्न आवश्यक छ।
प्रश्न ६: वर्तमान सरकारको एक सय दिनको कामलाई कसरी हेर्नुभएको छ?
चीरन पुन:
सरकारले एक सय दिन पूरा गरेको छ। तर देश विकास भाषण वा प्रचारले मात्र सम्भव हुँदैन। त्यसका लागि स्पष्ट दृष्टिकोण, सही नीति, प्रभावकारी योजना र श्रमजीवी वर्गको सहभागिता आवश्यक हुन्छ।
हालसम्म सरकार जनताको अपेक्षा अनुसार अघि बढ्न सकेको देखिँदैन। आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रका चुनौतीहरू समाधान गर्ने स्पष्ट दिशा देखिएको छैन।
प्रश्न ७: तपाईंहरूको पार्टीसँग देशका लागि कस्तो वैकल्पिक योजना छ?
चीरन पुन:
हाम्रो पार्टी लामो राजनीतिक संघर्ष र बलिदानबाट आएको पार्टी हो। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वजस्ता एजेन्डालाई अघि बढाउने पार्टीका रूपमा हामीले आफूलाई स्थापित गरेका छौं।
हामी सुशासन, समृद्धि, विज्ञान–प्रविधि, सूचना, सञ्चार तथा सामाजिक न्यायमा आधारित वैकल्पिक विकासको दृष्टिकोण अघि सारेका छौं।
प्रश्न ८: राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलनबीचको सम्बन्धलाई कसरी व्याख्या गर्नुहुन्छ?
चीरन पुन:
राजनीति र संस्कृति एकअर्काका पूरक हुन्। राजनीतिले आन्दोलनको दिशा निर्धारण गर्छ भने संस्कृतिले त्यसलाई जनस्तरसम्म पुर्याउने चेतना र ऊर्जा प्रदान गर्छ।
आजको राजनीतिक आन्दोलनको बलियो आधार सांस्कृतिक आन्दोलन नै हो। त्यसैले राजनीतिक परिवर्तनलाई दिगो बनाउन सांस्कृतिक रूपान्तरण अपरिहार्य हुन्छ।
प्रश्न ९: व्यक्तिगत रूपमा अहिले के–कस्ता सिर्जनात्मक काममा व्यस्त हुनुहुन्छ?
चीरन पुन:
मैले राजनीतिक र सांस्कृतिक विषयमा विभिन्न लेख, आधारपत्र र कार्यपत्र लेख्दै आएको छु। अहिले नयाँ गीतिसंग्रह प्रकाशनको तयारीमा छु।
साथै नेपालको प्रगतिशील गीत–संगीतको इतिहास लेखिरहेको छु, जसको अधिकांश काम सम्पन्न भइसकेको छ। आफ्नो राजनीतिक तथा सांस्कृतिक जीवनसँग सम्बन्धित संस्मरणात्मक पुस्तक ‘यात्रा’ पनि प्रकाशनको तयारीमा छ।
प्रश्न १०: नेपाली कम्युनिस्ट पार्टी र जनसांस्कृतिक महासंघका आगामी प्राथमिकता के हुन्?
चीरन पुन:
पार्टीको एकता प्रक्रिया तल्लो तहसम्म विस्तार गर्ने, संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन तथा आगामी महाधिवेशनको तयारी मुख्य प्राथमिकता हुन्।
महासंघका तर्फबाट पनि संगठन विस्तार, गीति एल्बम र मुखपत्र प्रकाशन, बृहत् सांस्कृतिक कार्यक्रम आयोजना तथा राष्ट्रिय सम्मेलनको तयारीलाई प्राथमिकता दिइएको छ।
प्रश्न ११: अन्त्यमा केही भन्न चाहनुहुन्छ?
चीरन पुन:
टपटेनखबर र तपाईंलाई धन्यवाद। सत्य, तथ्य र जनपक्षीय पत्रकारितालाई निरन्तरता दिनुहोस्। देश र जनतालाई सही सूचना प्रवाह गर्ने अभियान अझ प्रभावकारी बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
अन्तर्वार्ता: नन्दलाल खरेल
सम्पादक, टपटेनखबर अनलाइन

