काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार (असार १६ र १७ गते) देशका विभिन्न भूभागमा मनसुन थप सक्रिय हुने र भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकारणको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानले मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुने संकेत गरेको छ। देशका अधिकांश पहाडी र तराई क्षेत्र तथा केही हिमाली भूभागमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा आइतबार जारी सूचनामा लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र आवश्यकता परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ।
त्यस्तै, खोला–नदी र खहरे आसपास आवतजावत गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्ने तथा नदी किनारका बासिन्दालाई सम्भावित सुरक्षित स्थानको पूर्वपहिचान गरी सजग रहन अनुरोध गरिएको छ।
प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई सम्भावित उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग र सडक खण्डमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ।
विपद्सम्बन्धी आपत्कालीन सहायता आवश्यक परे वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ।
साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीलाई नियमित रूपमा पालना गरी सुरक्षित रहन सबै नागरिकलाई अनुरोध गरिएको छ।
यस्तो छ प्राधिकरणद्वारा जारी सूचना


