काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा जापानले स्विडेनसँग १–१ गोलको बराबरी खेल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। यो नतिजा दुवै टोलीका लागि नकआउट चरण पुग्न पर्याप्त बन्यो। समूह ‘बी’को उपविजेता बनेको जापानले नकआउट चरणमा स्थान बनाउँदा स्विडेन उत्कृष्ट आठ तेस्रो स्थानका टोलीमध्ये एक बन्दै अर्को चरणमा उक्लिएको हो।
यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ट्युनिसियामाथि ३–१ को सहज जित निकाल्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्यो। समूह चरणका सबै खेल सकिएसँगै यस समूहबाट नेदरल्यान्ड्स, जापान र स्विडेनले नकआउट चरणको यात्रा तय गर्दा ट्युनिसियाको प्रतियोगिता भने यहीँ टुंगिएको छ।
जापान र स्विडेनबीचको खेल धेरै समयसम्म सन्तुलित रह्यो। खेलमा आक्रामकता कम देखिए पनि दुवै टोलीका गोल भने आकर्षक बने। जापानका लागि माएडाले उत्कृष्ट सामूहिक तालमेलको नमुना प्रस्तुत गर्दै सुन्दर गोल गरे भने स्विडेनका एलाङ्गाले व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल फर्काए।
अब नकआउट चरणमा समूह ‘बी’को उपविजेता जापानले पाँचपटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, समूह विजेता नेदरल्यान्ड्सले मोरक्कोसँग भिड्दै क्वार्टरफाइनल यात्राको लक्ष्य राख्नेछ।

