काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो बाँझो जमिन र युवाको वैदेशिक पलायनका कारण कृषि क्षेत्र संकटतर्फ उन्मुख भएको भन्दै उत्पादनमुखी कृषि प्रणालीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खेतीयोग्य जमिन बाँझो रहनु प्रदेशको कृषि उत्पादनका लागि गम्भीर चुनौतीका रूपमा देखा परेको बताएका हुन्। उनले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीको विस्तारमार्फत कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्।
मुख्यमन्त्री कार्कीका अनुसार युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण ठूलो परिमाणमा खेतीयोग्य जमिन प्रयोगविहीन बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा खाद्य सुरक्षामै असर पार्न सक्ने जोखिम बढाएको छ।
उनले कोशी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, व्यावसायिक खेती, कृषिमा नवप्रवर्तन, बजारीकरण, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी पनि दिएका छन्।
मुख्यमन्त्री कार्कीले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्परा नेपाली संस्कृति र पहिचानसँग जोडिएको मौलिक पर्व भएको उल्लेख गर्दै देशको अर्थतन्त्र र खाद्य सुरक्षामा कृषकको योगदान अतुलनीय रहेको बताए। उनले कृषकको श्रम, पसिना र समर्पणप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र समृद्ध कोशी प्रदेश निर्माणका लागि सरकार, किसान र सरोकारवाला सबै पक्षबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका छन्।

