काठमाण्डौ । घुम्ति कवि गोष्ठी नेपालको १५२ औं शृंखला साहित्यकार महेन्द्र चालिसेको प्रमुख आतिथ्यतामा लिट्टिल मुन बोर्डिङ स्कुलमा सम्पन्न भएको छ । कपन फैकास्थित लिट्टिल मुन बोर्डिङ स्कुलका प्रधानाध्यापक मुरारी भण्डारीको अध्यक्षतामा घुम्ती कवि गोष्ठीको १५२ औं शृंखला शनिबार सम्पन्न भएको हो ।
घुम्ती कवि गोष्ठी नेपालका उपाध्यक्ष एवम् साहित्यकार त्रिलोचन आचार्यले प्रमुख अतिथि, अतिथी एवम् सहभागी स्रस्टामा स्वागत गर्दै छन्दोबद्ध कविता पस्किए । कार्यक्रममा चेवन बस्नेत, दुर्गा अधिकारी ‘भमरकोटे’, चन्दा न्यौपाने, विमल अर्यालले ‘सुसेली’ पस्किए भने राजेशमान केसी, सुशील आचार्य, रामकुमार पण्डित लगायतले मुक्तक पस्किदै सहभागीलाई मन्त्रमुग्ध बनाए ।

घुम्ति कवि गोष्ठीको नियमित शृंखला अन्तर्गतको साउन महिनाको यश शृंखलामा विसुकुमार केसी, मिसन अधिकारीले गजल प्रस्तुत गरे भने घनश्याम प्रसाईं, रुपा रिसाल चालिसे, कविता दहाल, मुरारी भण्डारीलगायतले गीत गाएर कार्यक्रमलाई सुसज्जित तुल्याएका थिए । भानुभक्त न्यौपाने, ओमप्रसाद कोइराला, महेश्वर खनाल, कृष्णपसाद पौडेल ‘जस्ताघरे’ एवम् परशुराम पराजुली पराशरले विभिन्न वार्णिक छन्दमा रचित आफ्ना कविता प्रस्तुत गरेको कार्यक्रममा प्रमोद नेपाल, तोयानाथ तिवारी, प्रल्हाद लामिछाने, रमेश खनाल, सपना अधिकारी, विश्वनाथ तामाङ, बासुदेव पौडेल, कुशल रेग्मी, सविता पोख्रेल, पूजा केसी, द्वारिका कुईंकेल, रामचन्द्र दहाल, अच्युत पौडेल ‘चिन्तन’, ममता मृदुल, विनोद दहाल ‘बत्स’, महेन्द्र चालिसेले आफ्ना गद्यशैलीका कविता पस्किएका थिए ।
प्रख्यात नेपाली प्रगतिवादी साहित्यकार रमेश विकल पुत्र एवम् कार्यक्रमका प्रमुख अतिथि महेन्द्र चालिसेले साहित्य मानवजीवनको पौष्टिक खुराक भएको बताउँदै मानिसले यस्तो खुराक जति ग्रहण गर्नसक्यो, जति उत्पादन गर्न सक्यो, त्यति जीवनको लागि लाभदायक हुने प्रष्ट गरे । चालिसेले साहित्य मानवजीवनको लागि हितको पवित्र उद्देश्यले लेखिनुपर्ने बताए ।
एक समय काठमाण्डौमा ‘उत्साह’ नामक साहित्यिक अभियान चलेको स्मरण गर्दै त्यसैको उत्पादन साहित्यकार रमेश खनाल, विमल अर्याललगायत आफू समेत भएको खुलासा गरे ।

प्रमुख अतिथी चालिसेले आफू अन्य स्रष्टाका कविता एवम् अन्य रचनाको समीक्षा गर्न असमर्थ रहेको बताउँदै ४५ सहभागी सर्जकबाट एउटा नम्बर छानी सहभागी स्रष्टालाई नगदसहित पुरस्कृत समेत गरे । कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकका प्रकाशक एवम् सम्पादक निबन्ध आचार्यद्वारा प्रायोजित सहभागी स्रष्टालाई पुरस्कृत गर्ने कार्यक्रममा चालिसेले सत्र नम्बर छनौट गरेका थिए । उपस्थितिको
सत्रऔं नम्बरमा रहेकी स्रस्टा सपना अधिकारी पुरस्कृत भइन् । पुरस्कृत भएपछी स्रस्टा सपना अधिकारीले भनिन्- ‘पहिलो पटक यस्तो कार्यक्रममा सहभागी हुँदा पहिलै पटक यसरी पुरस्कृत हुँदा ज्यादै खुशी लागेको छ, मेरो लागि यो सपना जस्तै भो ।’

लिट्टिल मुन बोर्डिङकी पूर्व विद्यार्थी समेत रहेकी पूजा केसीले प्रस्तुत गरेको कविता ‘भविष्यसित वार्तालाप’ गहन एवम् जीवनवादी दृष्टिकोण पोखिएको कविता थियो भने कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, रमेश खनाल लगायतका कविता काव्यिक गहनता प्राप्त कविता थिए ।

घुम्ति कवि गोष्ठी नेपालका पूर्व अध्यक्ष रामचन्द्र दहालले सहभागीलाई धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सभाध्यक्ष एवम् लिट्टिल मुन बोर्डिङ स्कुलका प्रधानाध्यापक मुरारी भण्डारीले आफ्नो मन्तव्यसहित समापन गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामकुमार पण्डितले गरेका थिए ।
-मिसन अधिकारीबाट

