सुन्दर द्वैधता
-रचना खड्का
चन्द्रमा झैँ शान्त, घाम झैँ तेज —
उनको मनमा दुई संसारको मेल।
सपना बुन्छिन् — आगो जस्तै बल्छिन्,
मनभित्र लुकेको साउनकाे भेल ।
धेरै माया गर्छिन्, तर चुपचाप,
मनको कथा खुल्दैनन् हरेकचोटि किताबझैँ।
जंगलझैँ निर्भीक, फूलझैँ कोमल,
मुस्कानमा लुकेका छन् घाउ — मौन र अटल।
कहिले नाच्छिन् हर्षमा, कहिले मौनता ओढ्छिन्,
जीवनका चक्रमा उही पुराना कथा बोकेर हिँड्छिन्।
दिन्छिन्, थाक्छिन्, फेरि बन्छिन्,
साँझपछि फेरि बिहान आउँछ — उस्तै उज्यालो बन्छिन् ।
हाँसाेमा लुकेको व्यथा, आँसुमा कविता,
कर्तव्यका गल्लीहरूमा जीवन वनाउँछीन् सजगता।
मीठो बोली, सजिलो हाँसो — तर भित्रै उर्लिन्छ तुफान,
फूलहरूको बगैंचामा काँडाको अनुभव रहन्छ समान।
उनी प्रेम मात्र होइन, विद्रोहको रूप पनि हुन्,
शब्दभन्दा गहिरो — मौनतामा उत्रने भावनाहरू हुन्।
सपना बोकेर अघि बढ्छिन् नथाकी,
आमाको मुस्कानमा संसारको शान्ति देख्छिन् ।

