“लौ भन्ने भएभन, नभए तेरो मासु टुक्रा टुक्रा काट्ने छु ।”उक्त अमानवीय तथा क्रुर अभिव्यक्ति शहीद गंगालाल श्रेष्ठलाई हात–खुट्टा बाँधी भुइँमा नछुने गरी बाँसमा झुण्ड्याएर मर्नासन्न हुने गरी कोर्रा लगाएर केरकार गर्ने क्रममा एकजना जर्नेलले नाङ्गो खुकुरी देखाई भनिएको दानवीय अभिव्यक्ती हो । वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठको कोखबाट जन्मेका गंगालाल श्रेष्ठ वि.सं. १९९४ सालमा दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरेका थिए । त्रि–चन्द्र कलेजमा आई.एस्सी. पढेका महावीर संस्थाका कार्यकर्ता गंगालाल श्रेष्ठ पनि कवि तथा कलाकार थिए । वि.सं. १९९५ सालमा शहीद शुक्रराजशास्त्रीले इन्द्रचोकमा आयोजना गरेको नेपालकैं पहिलो सार्वजनिक आमसभामा गंगालाल श्रेष्ठले “ यी मालिक भनाउँदा राणाहरूले आएर फ्याँकेको एक टुक्रा जुठो रोटीको पछि भोकाएका कुकुर झैं हामी लागिरहेका छौं ।” भनी राणा शासन बिरुद्ध पहिलो राजनैतिक भाषण गरेका थिए । वि.सं. १९९३ साल जेष्ठ २० गते शहीद धर्मभक्त माथेमाको घर ओम बहालमा राणा शासन बिरुद्ध प्रजापरिषद्को गतिविधिमा लागेका कारणले वि.सं. १९९७ साल कार्तिक २ गते पक्राउ गरी जेलमा पर्दा उनकी पत्नी हसिनादेवी श्रेष्ठ गर्भवती थिइन् । वि.सं. १९९७ साल माघ १३ गते हसिनादेवी श्रेष्ठले छोरा जन्माएको खबरले गंगालाल श्रेष्ठ औधी खुशी भई छोराको नाम शशी राख्न सन्देश पठाएको २ दिन पश्चात् वि.सं. १९९७ साल माघ १५ गते राती अन्दाजी १ः३० बजे दशरथचन्द्र सँग सेन्ट्रल जेलबाट गंगालाल श्रेष्ठको घर प्याफलको बाटो हुँदै विष्णुमती स्थित शोभाभगवतीमा लगेर गोली हानी मृत्युदण्ड दिएकाथियो ।
देशपिँजराको अवस्थामा थियो । जनताहरू सबैको मुखमा बुझो लगाएको थियो । मृत्युदेखि निर्भयता भएर गंगालाल श्रेष्ठले आपूmप्रजा परिषद्को सदस्य बन्नाका निम्ति आफ्नो बलिदान स्वरूप यौटा कविता लेखेकाथिए । उक्त कविताको अंश यस प्रकार छ ः—
नेतानेतादि सब सबले मर्नु साझा सबैको
सब सब गई बस्छन् काखमा नै चित्ताको
किनडरुँ मृत्युदेखि मर्न कम्मर कसेको
हुँ एक वीर पुत्र नेपाल आमाको ।
युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत कविताका विषयमा आफ्नो जेल संस्मरणमा लेख्छन् “१९९७ साल माघ १५ गते उनलाई शहीद तुल्याएको दिन म काठमाडौं भद्रगोल जेलमा थिएँ । राति सपना देखे एउटा ढिस्को छ । तलतिर छिप छिप पानी, पारितिर बत्तीले झलमल्ल भएको कुनै गाउँ । हामी दुबैजना त्यस आकाशतिर उड्न थाल्यौं । उनी उड्दै गए शायद त्यस प्रकाश सम्म नै तर म बीचैमा परेँ, उड्न सकिन अनि झल्याँस्स भएँ । यो सपनाको कुराले धेरै पटक आएर मलाई भने जस्तो लाग्छ “उनले आफ्नो मातृभूमिको ऋण तिरे, तिमी बीचमा अल्झेका छौँ ।” भनी शहीद गंगालाल श्रेष्ठलाई स्मरण गरी प्रस्तुत“गंगालालको स्मृतिमा”शीर्षकको कविता वि.सं. २००९ सालमा रचना गरिएको देखिन्छ ।
शहीद गंगालाल श्रेष्ठलाई सम्झनु हामी सबैको कर्तव्य हो । आँखामा कालो पट्टी लगाएर मुखमा बुझो लगाएको त्यो शासनकालमा राणा बिरुद्ध आवाज उठाउनु धेरै डरलाग्दो समय थियो । आफ्नो ज्यानलाई त्यागेर देशकालागि बलिदान गर्ने उद्देश्य बोकेका वीर योद्धाहरुले मात्र राणा शासन बिरुद्ध त्यसबेला आवाज उठाउँन सक्थे । प्रजातन्त्रकोलागि गंगालाल श्रेष्ठ आफ्नो जीवन समर्पित गरिसकेकोले अब बाँच्नु भन्दा मृत्युदण्ड अँगाल्नु नै उचितहुनेछ भन्ने पहिले नै सोचेका थिए । त्यसैले गंगालाल श्रेष्ठको शरीरमा जति कोर्रा लगाएपनि जति रगताम्य हुने गरी अमानवीय यातना दिएपनि आफ्नो देशभक्तिकालागि बरू ढुङ्गा पग्लिन सक्छ तर गंगालालश्रेष्ठको अठोट कहिल्यै पग्लिएन । बरु झनझन कठोर बनेर यो रगत र मासुको शरीर एक दिनत तिमीहरूलाई नै शबको रूपमा छोडेर जाने होभनी भीष्म प्रतिज्ञामा अडिक रहेका गंगालाल श्रेष्ठलाई त्यो चिसो रातमा शोभाभगवतीलाई साक्षी राखेर सदाकालागि अन्त्य गरियो । त्यसैले होला आज युगकवि सिद्धिचरण श्रेष्ठले यौटा आत्मिय मित्रलाई मृत्युदण्ड दिएको खबरले छट्पटाई रहेको त्यो रातमा किन हो कुन्नी त्यो आकाश मण्डलमा ग्रहहरू भेला भैरहेको बेलामा नेपालआमालाई मुक्ति दिलाउनकालागि दुईवटा पंक्षीहरू त्यो स्वतन्त्र आकाशको हावामा उडेर कसलाई खोज्न गएका हुन् । कसलाई बोलाउन गएका हुन, थाहा छैन । आफ्नो मनको कुरा पूरा नहँुदै यात्रामा कतै शिकारीले गोली हानी मार्ला कि भन्ने डरले हतार हतारमा वायुपंखी घोडा जस्तै छिटो छिटो उडेर साँझसम्म पुग्ने उद्देश्यले आज दुई पंक्षी गंगालाल श्रेष्ठ र सिद्धिचरण श्रेष्ठ आकाशमा उड्दैछन् । एक आपसमा सल्लाह गरेर राणा विरुद्ध बुलन्द आवाज उठाउँदा आपूmहरूलाई मृत्युदण्ड दिएमा बास बस्नका लागि कतै सौर्यमण्डलमा, कतै तारामण्डलमा कतै ग्रहमण्डलमा बास बस्नका लागि बासस्थान खोज्दैछन् ।
थाहा छैन, उड्दै गरेका गंगालालले किन होला मलाई बीच बाटोमैं एकलै छोडेर आपूmमात्रै किन पारी पुगेको होला ? थाहा छैन, मलाई एकलै पारी अनाथ बनाएर बीच बाटोमा किन छोडेर गएको होला ? थाहा छैन, कतै शिकारीले उसलाई मात्र ताकी किन गोलीहानेको होला? एउटै बाटोमा हिँड्ने हामीहरूमध्ये मलाई किन गोली नचलाएको होला ? पंक्षी बनेर हामीदुई जना उडिरहेको बेला जगमग ज्योति बलिरहेको त्यो यशको दरबारमा गंगालाल किन सुत्न गएको होला ? तिमीले मात्र मातृभूमिको ऋण तिरेर मलाई किन तिर्न नदिएको होला ? मेरै कविताले प्रेरित भई आगोमा होमेका आत्मिय गंगालाल सम्झिन्दा कतै म ज्यानमारा त होइन होला? कसैको परिवार बिगार्ने म सिद्धिचरण भोलि कुनमुखले गंगालाललाई स्वर्गमा भेट्ने होला ? धिक्कार छ मेरो जीवन जहाँ गंगालाल गएको थियो, म किन जान सकिन ? धिक्कार छ मेरो जीवन जहाँ गंगालाल बाठो भएर मलाई किन साथ लगेनौ ? मेरो जन्म अभागी रहेछ । म बाँचेर के गरूँ? बरु जेलमै मरेको भए जाती हुन्थ्यो होला । त्यसैले किनहो कुन्नी आज रातभरी तिम्रै सम्झना मात्र आएर यो मन पोलिरहेछ । हिजो तिमीलाई मृत्युदण्ड दिएको खबर सुनेर शोभाभगवतीले पनि शिर झुकाएको रहेछ । बगिरहेको विष्णुमती नदी पनि एकछिन टक्क रोकी तिम्रो आत्मालाई श्रद्धाञ्जली दिइएको रहेछ ।
तिम्रो रगत आज सम्म सुकेको छैन साथी । हावाले मात्र होइन घामले पनि सुकाउन मानिरहेको छैन साथी । तिम्रो रगत माटोले पनि पिउन सकेको छैन साथी । तिम्रो मृत्यु हेर्न नसकेर चन्द्रले पनि आँखा चिम्लेका थिए रे साथी । त्यसैले आजसम्म तिम्रो रगत आलै छ । तिम्रो रगतले मागेको राणा शासन अब चाँदै ढल्नु पर्छ ।तिम्रै रगत मुछ्एिर हाम्रो देशमा प्रजातन्त्रको जग राख्नु पर्छ ।
नभ मण्डलमा दुईटा पङ्खी भै उड्थे हावामाथि चढी
यौटा बीचमै बल्र्याे किन हो, पार पुग्यो अर्को चाहिँ ।
बीचमा रुक्ने पङ्खी मै हुँ, गंगाजाने पार तरी
उज्ज्वल यशको दरबार जहाँ, जगमग जगमग ज्योति बली ।
युगकवि सिद्धिचरण श्रेष्ठको मनमा आज पश्चातापको आगो बलिरहेको छ । आपूmउतातिर हेलिन नपाएकोमा मनमा धेरै दुःख लागेर होला यही ठाउँमा बसेर मातृसेवा गरिरहेको कुरो उल्लेख गर्दैछन् । गंगा तिमीले मनमा एक थोपा पनि डर नलिई बेगले बगिरहेको नदी र नालाहरूको कुनै परवाह नै नगरी तिमी पारी गयौ। त्यसैले तिमी अमर छौ । देशलाई रगतको आवश्यकता परेको बेला तिमीले रगत दियौ। देशले आजादी खोजेको बेला तिमीले बलिदान दियौ । त्यसैले तिमी नेपाल आमाको सच्चा भक्ति र वीर सपूत हौ. । तिमी अमर र अजर छौ । देशलाई सञ्चो नभएको बेला तिमीले औषधी खुवाएर निको पा¥यौ । गंगा तिमी नमरेको भए के हुन्थ्यो । मैले क–कसलाई कति मोल तिर्नु पथ्र्थौ होला? पैँचो लिएको कुरो न हो । आखिर फिर्ता त दिनु थियो । आज नदिए भोलि पक्कै उनीहरू आएर लिन आउथे होला ।
हो, एकदिन छोडेर जानु पर्ने यो शरीर मेरो कहाँ हुन सक्छ र ? भन गंगा तिम्रो त्यो रातो रगत लागेको ठाउँमा म कसरी सजाउन सकूँ?गंगा अभैm पनि तिम्रो रगत सुकेको छैन । बगर रगताम्य भएर होला त्यो तिम्रो प्राण त्यागेको ठाउँमा भगवतीमाता आपैंm प्रशन्न भएर मन्दिर बनाउन लागेको छ रे ! युगौं युगसम्म यो नेपाल आमा रहेसम्म तिम्रो मन्दिरमा सबै नेपालीहरूले पूजा–आजा गर्ने छन्।
पार उतातिर हेलिन नसकी यसरी म अडें यस ठाउँ
नडराई पार गएकोले अमर छ गंगाको नाउँ ।
गंगा नमरी बाँचे को को भन मैले के मोल तिरूँ,
तिम्रो तातो रगत बगेको यो ठाउँ कसरी सजाउँ ।
तिम्रो तातो रगतले निरञ्कुश राणा शासन ढलेर प्रजातन्त्र आईसकेको छ । मक्किसकेका सबै दरबारहरू भत्किएर आजदेखि जनताले शासन चलाई सकेको छन् । आजादी बनेर आकाशमा उडेका ती स्वतन्त्र पंक्षीहरूले मन खोलेर भोलिको योजना बनाउँदै छन् । वारीदेखि पारीसम्मका सबै कुराहरूको हिसाबकिताब गरेर नेपाल आमालाई कसरी खुशीपार्ने भनी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्दैछन् । त्यसैले भोका, नाङ्गा अनि घायलहरूलाई प्रजातन्त्रले औषधीमूलो गर्दै छ। अध्यारो समाजलाई छोडेर उज्यालो तिर हामीहरू सबै लम्केर नेपालीहरूको भाग्य खोल्दैछन् । अब त हामीले धेरै बनाउनु छ । धेरै बेथितिहरू भत्काउनु छ । कामले फुर्सद नपाएर अब दिनमा मात्र होइन रातमा पनि मेहनत गरी हामीहरूले देश बनाउनु छ ।
संसार परिवर्तनशील छ । यो परिवर्तनशील संसारमा सधैं एकै ठाउँमा स्थिर भएर कोही रहन सक्दैन । त्यसैले आज बलियाहातहरू जतिसुकै बलवान भए पनि एकदिन निर्बल भएर शक्तिहिन हुनेछ । निर्बल हातहरू एकदिन बलियाभएर अन्याय र अत्याचारीहरूको दाँत झार्ने छ । यो त समयचक्रको कुरो हो । त्यसैले गंगा तिम्रो महान् कर्तव्य फुटेर आज नेपालको भाग्य चम्किदै छ । तिमीले बगाएको रगतमा प्रजातन्त्रको युग जन्मिदै छ् ।चेतनाको अभाबमा सचेतनाको कमीले गर्दा आज चेतनाको दियो बालेर लाखौं लाख दियोहरू बल्दैछन् । गंगा, तिम्रो जन्म हाम्रो धरतीमाताले पहिले ने खोजेको रहेछ । कृष्णको अवतार लिएर अन्यायीहरूलाई तिमीले भष्म पार्छौ भन्ने कुरा पहिले नै थाहा रहेछ । त्यसैले तिम्रो जीवन मानव जीवनको उद्धारका लागि रहेछ । युगौंयुगसम्म बाँच्ने तिम्रो जुनी रहेछ । तर के गर्नु खै म त आजसम्म यही हिँडिरहेछु । अभय मृत्यु नपाएर आजसम्म रोएर बाँचिरहेछु । तिमीले नेपाल आमालाई बचाउनकालागि कहिल्यै सुतेनौ ?जिन्दगीमा सधैँ ब्यूझिएर होला तिमीले अभय मृत्यु पाएका छौ । म त अभागी रहेछु ।तिमीसँग हिँडेर पनि किन सुतिरहेछु ?थाहा छैन, अब यो जीवन के को लागि बाँच्ने हो ? अब कसरी जीवन बिताउने हो ? तिम्रो सम्झनाले अब मैले बाँच्नुको अर्थ के छ र ?धिक्कार छ मेरो जुनी म सुतिरहे तिमी उठीरहे ।तिमीले मृत्यु माग्यो । मैले मागेर पनि पाइँन। त्यसैले म अहिले जेल जीवन बिताई रहेको छु । तिम्रै स्मृतिमा एक अञ्जुली आँशु चढाई रहेको छु ।
तिम्रो रातो शोणितद्वारा आजादीको तरू हुक्र्यो
तिम्रो बलियो प्रतिरोध बढी अन्यायीको दाँत झ¥यो ।
गंगा ! तिम्रो कर्तव्य फुटी नेपालीको मार्ग खुल्यो
जडता फाली चेतना बाल्ने मौकाको आवाद भयो ।अभय मृत्यु नै पुग्नु, तिमी पुग्यौ म गइरहेछु
नसुती बिम्झनु अभय मृत्यु हो, तिमी बिम्झ्यौ म सुतिरहेछु ।
यो संसारमा सबैभन्दा ठूलो कुरो प्राणलाई आहुति दिनु हो । प्राणलाई हत्केलामा राखेर हिँड्नु नै संसारमा सबै भन्दा ठूलो डरलाग्दो कुरो हो । त्यसैले अमरत्व त्यसै प्राप्त गर्न सक्दैन । आगोमा नाच्नुपर्छ । पानीमा हिँड्नु पर्छ ।आफ्नो शरीरको मासु पनि टुक्रा टुक्रापारेर राक्षसहरूलाई खुवाउन सक्नु पर्दछ । रगत दिएर नअघाउन्जेलसम्म पिलाउन सक्नु पर्दछ । मागेको बेला आफ्नो प्राण समेत दिन सक्नु पर्दछ । घर परिवारलाई चटक्क बिर्सेर आफ्नो आँखाको अगाडि सधैं बैरीहरूलाई मात्र देख्न सक्नु पर्दछ । अमरत्व आपैm डरलाग्दो बाटो हो । धरतीमाता रोइरहेको बेला आँशु पुछेर शुद्ध, निर्मल अनि ईश्वरलाई चढाउने गंगाजल जस्तो भैसकेको छ । स्वर्गमा बसेर पनि आज किनहो कुन्नी आफ्नो जन्मभूमिमा आँखा ओछ्याएर के भैरहेको छ हेर्दै छ । के हुनलागिरहेको छ सोच्दै छ ।

