काठमाडौं । नवौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत २० देखि २२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भएको छ।
महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजित तीनदिने मेलामा देशभरका सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन्।
महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा करिब तीन सय महिला उद्यमीले सहभागिता जनाउने छन् । मेलामा १४० स्टल रहने बताईएको छ।
प्रदर्शनीमा हस्तकला, ढाका, गलैँचा, हातेकागज, जडीबुटी, जैविक खाद्यपदार्थ, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिने छन् ।
प्रदेशगत विशेषतासमेत मेलामा झल्किने आयोजकले जनाएको छ।
कोशीबाट अल्लो र प्राकृतिक रेसाजन्य सामग्री, मधेसबाट मिथिला कला, बागमतीबाट डेरी तथा हस्तकला, गण्डकीबाट जडीबुटी र ढाका, लुम्बिनीबाट परम्परागत खाद्य, कर्णालीबाट राडीपाखी तथा सुदूरपश्चिमबाट गलैँचा र काठका सामग्री प्रदर्शन गरिनेछ।
अध्यक्ष श्रेष्ठका अनुसार महासङ्घले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकासमा काम गर्दै आएको छ।
यस वर्षको मेलाले ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीलाई पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
मेलामा भारत, चीन, कोरिया र भुटानका महिला उद्यमीहरूको समेत सहभागिता रहनेछ, जसले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘र्याम्प वाक’, समूहगत छलफल, कार्यशाला, डिजिटलाइजेशन तालिम र वित्तीय साक्षरताजस्ता कार्यक्रम मेलाका प्रमुख आकर्षण रहनेछन्।
आयोजकका अनुसार मेलामा करिब दुई करोड रुपैयाँ बराबरको कारोबार हुने र ५० हजारभन्दा बढीले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।

