काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि जितेको हो। पुरुषतर्फ भने एपीएफले आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई १२–७ ले हरायो। महिलातर्फ बागमती प्रदेशले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।
व्यक्तिगततर्फ पुरुषमा एपीएफका रोहन डंगोल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन्, उनले ट्रफीसहित ५ हजार रुपैयाँ हात पारिन्।
सेमिफाइनलमा पुरुषतर्फ आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराएको थियो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। महिलातर्फ एपीएफले बागमती प्रदेश र आर्मीले कर्णाली प्रदेशलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका थिए।
प्रतियोगितामा विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो। समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा एसिया रग्बी संघका उपाध्यक्ष टंकलाल घिसिङलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
Previous Articleभिटोफ-नेपालको अधिवेशन सुसम्पन्न
Next Article एक पोस्टले क्रिकेटर करण केसी खेलबाट निलम्बित

