– माधव घिमिरे ‘अटल’
गाउँ पर्यटन प्रवर्धन मञ्च- नेपाल(भिटोफ-नेपाल)को २७ अौं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ ।
हरिशरण थपलियाको अध्यक्षतामा नवनिर्वाचित उक्त समितिमा प्रथम उपाध्यक्ष- मनहरि दाहाल, द्वितीय उपाध्यक्ष- विनोद वस्ती, महासचिव -अर्जुन भट्ट, सचिव – सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने तथा सह-कोषाध्यक्ष- नारायण सोडारी हुनुहुन्छ भने सदस्यहरुमा प्रतिपकुमार तामाङ, सुनिता पौडेल दवाडी, विनोद ढकाल र सुनिता अधिकारी न्यौपाने हुनुहुन्छ ।
सो अधिवेशनको प्रमुख अतिथि राष्ट्रिय-सभाका अध्यक्ष सम्माननीय नारायणप्रसाद दाहालले नयाँ वर्ष-२०८३ को सबैलाई शुभकामना दिँदै एवं अधिवेशन सफलताको कामना गर्दै नेपालको पर्यटन उन्नयनमा सरकारको तर्फबाट यथाशक्य सहयोग गर्ने वाचा गर्नुभयो । पर्यटन क्षेत्रलाई आफूले नजिकबाट नियालेको जिकिर गर्दै उहाँले पर्यटनलाई हरेक नेपालीले मनबाटै माया गर्नुपर्ने बताउनुभयो ।
भिटोफ-नेपालका अध्यक्ष शकुन्तला देवकोटाले घरबास विकास र बजारीकरणमा उल्लेख्य योगदान गरेको बताउनु भयो । गन्तव्य गाउँ घोषणा गर्ने मात्र नभई रोपाइँ कार्यक्रमलाई निरन्तरता दिने काम पनि भएको देवकोटाको कथन थियो । ग्रामीण पर्यटनलाई पर्यटनको मेरुदण्ड बनाउन सतत् प्रयत्न गरेको दाबी गर्दै उहाँले प्रमुख अतिथि लगायत अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रदेश संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीले भिटोफ-नेपालको तेह्रौ अधिवेशनको भव्य सफलताको कामना गर्दै बागमती प्रदेशले पर्यटन क्षेत्रको विविधीकरण र सुधारलाई उच्च प्राथमिकता दिएको जिकिर गर्नुभयो । प्याराडाइज एपमार्फत पर्यटन प्रवर्धनको कामलाई अघि बढाएको बताउँदै सिन्धुपाल्चोक जिल्लाको बलेफीमा राफ्टिङ स्कुल खोल्ने सम्पूर्ण तयारी पूरा भएको उहाँको कथन थियो । सुवेदीले पर्यटन प्रवर्धनका निम्ति प्रचारप्रसार उत्तिकै जरुरी रहेको भन्दै भिटोफ-नेपाल जस्ता संस्थासँग आफूहरू सहकार्य गर्न सदा लालायित रहेको खुलासा गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा(कमल)ले भिटोफ-नेपालको भर्खर निवर्तमान भएको कार्यसमितिले जसरी उत्साहपूर्ण ढङ्गले काम गर्यो त्यसरी नै नयाँ कार्यसमितिले पनि उत्साह सञ्चार गरिराख्नुपर्ने तर्क गर्दै कतैबाट पनि कच्चा पदार्थ नल्याई प्रवर्धन गर्नसक्ने एउटा मात्र उद्योग पर्यटन भएकाले यसलाई नेपालले सर्वाधिक महत्त्व दिनुपर्ने कुरामा जोड दिनुभयो ।
भिटोफका पूर्व अध्यक्ष तथा एनएमएका उपाध्यक्ष बोधराज भण्डारीले आफ्नो शुभकामना मन्तव्यका सिलसिलामा विदेशी तथा स्वदेशी पर्यटकलाई स्थानीय संस्कृति र प्रकृतिमा रमाउन सिकायो भने गाउँ पर्यटनले फड्को मार्ने दाबी गर्नुभयो ।
टानका अध्यक्ष सागर पाण्डेले आफूहरू नयाँ पूर्व कार्यसमिति जस्तै नयाँ कार्यसमितिसँग पनि पर्यटन क्षेत्रका विभिन्न समस्या हल गर्ने काममा सहकार्य गर्न तत्पर रहेको जनाउ दिँदै गाउँमा पर्यटक पठाउने र घरबास व्यवसाय टिकाउने काममा सरकारले दिएको दुईदिने बिदाले परोक्ष प्रवर्धन गर्ने बताउनु भयो । दश वर्षमा एक करोड विदेशी पर्यटक भित्र्याउने सरकारको योजना कार्यान्वयन गर्न आफूहरू तम्तयार रहेको उहाँको कथन थियो ।
भिटोफ-नेपालका प्रमुख सल्लाहकार प्रा.डा. प्रेम शर्माले तीन दशकदेखि आफूहरु ग्रामीण पर्यटन प्रवर्धनमा लागेको विषयलाई सरकारले सहयोग गर्न लागेकोमा हर्ष प्रकट गर्दै रैथाने खानपानलाई सहरमा भित्र्याएर उपयोग गर्न उहाँको आग्रह थियो ।
भिटोफ-नेपालका सल्लाहकार तथा पर्यटनविद् आलोक प्रसाईले ३२ वटा गन्तव्य गाउँबारे पुस्तक प्रकाशन गरी यो कार्यसमितिले एउटा महत्त्वपूर्ण काम गरेको अवगत गराउनुभयो ।
उक्त कार्यक्रममा निशेष थापा, राधा ढुङ्गाना, तारालाल धरेल, गोपाल थापा, बोधराज भण्डारी, कुमार चौलागाई, माधव घिमिरे ‘अटल’ लगायतलाई भिटोफ-नेपाल उन्नयनमा विभिन्न किसिमका योगदान गरे वापत सम्मान गरिएको थियो ।
कार्यक्रममा २०८२ मा घोषित गन्तव्य गाउँका प्रतिनिधिलाई प्रमाणपत्र अर्पण गरिएको थियो ।भिटोफ-नेपालका प्रथम उपाध्यक्ष हरिशरण थपलियाले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रमको अध्यक्षता अध्यक्ष शकुन्तला देवकोटाले गर्नुभएको थियो ।

