यही २०८० पुस २१ गते शनिवार अनुपम सिर्जना प्रतिष्ठान, नेपाल कलङ्कीको १३१ औँ नियमित प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलज्यूको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देलज्यूको समुपस्थितिमा सानदार ढङ्गले सम्पन्न भयो ।
काठमाडौँ उपत्यकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द कविता, मुक्तछन्द कविता, गीत, गजल, चारु, राग विराग र लोकछन्द कविता जस्ता विविध विधा रोचक कविहरूले रोचक किसिमले वाचन गरे । देशभक्ति भावले भरिएका, जनचेतनामूलक तथा समाजिका विकृति विरुद्ध प्रहार गरिएका रचना वाचित भएका थिए ।
साे अवसरमा रचना वाचन गर्ने कविहरूमा भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, नरनाथ लुइँटेल, गङ्गा लिगल, दुर्गाप्रसाद सिग्देल, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, द्वारिका कुइकेल, सुधा बास्कोटा ढकाल, आर्त अकुलीन, जितु खड्का, उत्तम भेटुवाल, र चन्द्रा न्यौपाने थिए ।
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले अनुपम सिर्जना प्रतिष्ठानले सर्जकहरूलाई रचना वाचन गर्ने अनुपम चौपारीमात्र प्रदान गरेको छैन अपितु घुमाउरो पाराले भाषा साहित्यको सेवा पनि गरेको बताउँदै छन्दको संरक्षण गरेकोमा प्रसन्नता व्यक्त गरे ।
उनले वाचित रचनाहरूको सुललित ढङ्गले समीक्षा गरे ।
विशिष्ट अतिथि गङ्गा लिगलले साहित्यले समाजलाई सत्मार्गमा हिँडाउने दाबी गर्दै साहित्यले भाषाको सेवा गरी देश विदेशमा देशलाई चिनाउने जिकिर गरे ।
सभाध्यक्ष भुवनहरि सिग्देलले आज वाचित कविता कविशिरोमणि लेखनाथमा समर्पण गरेको अभिमत व्यक्त गर्दै दिवङ्गत तिलक लुइँटेलमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । कविगोष्ठी सभ्य र भव्य भयो । । कवितामा विम्ब प्रतीकका साथै ध्वनि हुनु पर्ने उनको कथन थियो । कविगोष्ठी सफल बनाइदिने तमाम सर्जकलाई धन्यवाद दिँदै गोष्ठी समापन गरे । महासचिव सुधा बाँस्कोटा ढकालले कार्यक्रमको कुशलतापूर्वक गोष्ठीको सहजीकरण गरेका थिए ।
