पुस ५, काठमाण्डौ
कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्ती तथा ठाडो भाकाकी लोकगायिका धनमाया तामाङको २० औं स्मृति दिवसका अवसरमा मञ्जुश्री साहित्यिक समाजको ७७ औं प्रविधिमैत्री कविगोष्ठी सम्पन्न गरिएको छ ।
डा. बमबहादुर थापा जितालीको सभापतित्व,प्रा.डा. देवी पन्थीको प्रमुख आतिथ्य, साहित्यकार गङ्गा लिगल, डा. आशबहादुर तमाङ,जगदीश्वर पोखरेल,हृषिकेश बराल, द्वारिका कुइकेल, उत्तम भेटवालको विशिष्ट आतिथ्यमा सम्पन्न गरिएको छ ।
वीरबहादुर लोहनीको स्वागत गानबाट शुरुवात गरिएको उक्त कार्यक्रममा उपस्थित कविहरूले विभिन्न शास्त्रीय र लोकछन्दका कविता वाचन गरि कार्यक्रममा रौनकता बढाएका थिए ।
सो अवसरमा प्रमुख अतिथि प्रा.डा. देवी पन्थीले जागृति गानका रचनाकार कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृवित्वको चर्चा गर्दै अराजक तत्वद्वारा विराटनगरमा लेखनाथको शालिक तोडफोड गरिएको घटनाले आहत भएका साहित्यानुरागीहरुको सार्थक प्रयासले पुनः निर्माणका साथसाथै लेखनाथ वाचनालय बनाएको सन्दर्भ उठाएका थिए । उनले
भारतमा हरेक कवि लेखकले प्रकाशन गरेका २०० थान पुस्तकहरू खरिद गरेर प्रोत्साहन गर्ने परिपाटी रहेको तर नेपालमा त्यस्तो कुनै व्यवस्था नभएकोमा गुनासो व्यक्त गरे । लोकगायिका धनमाया तामाङको स्मृतिका लागि मञ्जुश्री साहित्यिक समाजको तत्वावधानमा
धनमाया स्मृति पुरस्कारको व्यवस्थापन गर्न सके सुनमा सुगन्ध हुने बताउँदै कार्यक्रमको निरन्तर सफलताको कामना गरे ।
सो समारोहका सभापति डा. बमबहादुर थापा जितालीद्वारा लेखनाथका रचनाको विवेचना (मर्यादावादका आलोकमा नीति र औचित्य ) समालोचना ग्रन्थको विमोचन लेखनाथ साहित्य सदनमा यही पुस १५ गते हुनेछ भन्दै कार्यक्रममाथि प्रकाश पार्दै वाचित कविताहरूको साङ्गोपाङगो समीक्षा गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

