काठमाडौं, असोज ३ । अक्षरधाम प्रकाशनको आयोजनामा नेपाल लाइब्रेरी फाउन्डेसन नेपाल जडिबुटीको सभाकक्षमा अछामका लेखक कण्ठराज गिरीको रसरङ्गको साैगात नामक पुस्तक शुक्रबार लोकार्पण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरीले नेपालको इतिहासका विभिन्न कालखण्डमा कर्णाली सभ्यता, लोकसाहित्य, देउडाको सांस्कृतिक जन्ममा न्याउला प्रथाको भूमिका बारे बताउँदै न्याउली चेलीको पीडादायी रोदनमा विभिन्न रस, अलंकार बिम्ब तथा प्रतीकको प्रयोग पुस्तकमा भएको बताउनुभयो ।
कार्यक्रममा पुस्तकका सर्जक कण्ठराज गिरीले पुस्तकमा पश्चिम नेपालको प्रख्यात नाच देउडाको उत्पति बारे पश्चिम नेपालका महिलाहरूको पिडालाई न्याउली प्रथामा आधार बनाएर अनुसन्धानात्मक रुपमा प्रस्तुत गरेको बताउँदै पुस्तकमा अलिखित, संकलित तथा माैलिक शब्दको माध्यमबाट साहित्यिक गुण र स्वरुप प्रदान गरेको बताउनु भयो। सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक नरबहादुर थापाले सामाजिक कुरीति हटाउन सकारात्मक परिवर्तनको लागि सांस्कृतिक साहित्यको भूमिका जानकारी दिनुभयो ।
अक्षरधाम प्रकाशन तथा लाइब्रेरी फाउन्डेसन नेपालका अध्यक्ष डा. छायादत्त न्याैपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख तपेन्द्र बहादुर रावल, साहित्यिक श्रृङखला पत्रिकाका सम्पादक/ प्रकाशक तथा नेपाल लाइब्रेरी फाउन्डेसन केन्द्रीय सदस्य प्रवीणराज जोशी, शिवराज जैसी, तथा खडक बहादुर बिष्टलगायतले शुभकामनासहित कृतिको समीक्षा गर्नुभयो ।
लोकार्पित उक्त पुस्तक साहित्य र संस्कृति विशेष रहेको छ ।
स्मरणरहोस् उक्त कार्यक्रममा स्वागत मन्तव्य नेलाफाका महासचिव धनकुमार श्रेष्ठले र देवराज सिम्खडाले सञ्चालन गरेका थिए।