काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबाट कारबाहीमा परेका र अलग भएका नेताहरूले नयाँ राजनीतिक पार्टी गठन गरेका छन्।
मधेस प्रदेशको राजधानी जनकपुरमा दुई दिनसम्म चलेको बैठकपछि डा. सञ्जयकुमार साहको अध्यक्षतामा विद्रोही समूहले शनिबार ‘जनस्वराज पार्टी’ नामक नयाँ संगठनको घोषणा गरेको हो।
नवगठित पार्टीले सामूहिक नेतृत्वको अवधारणा अगाडि सारेको छ। पार्टीलाई व्यक्तिगत अध्यक्ष नभई विभिन्न विभागमार्फत सञ्चालन गरिने ई. दीपक साहले बताएका छन्। उनका अनुसार, हालसम्म तीन विभाग गठन भइसकेका छन्। राजनीतिक संगठन विभागको जिम्मेवारी ई. दीपक साहलाई, आर्थिक विभाग ई. सुरेन्द्रनारायण यादवलाई र प्रशिक्षण विभाग डा. सञ्जयकुमार साहलाई तोकिएको छ। अन्य नेताहरूसमेत क्रमशः विभागीय जिम्मेवारीमा समेटिने तयारी भइरहेको जनाइएको छ।
उपाध्यक्ष तथा अनुशासन समिति संयोजक रहेका दीपक साह र कोषाध्यक्ष रहेका यादवलाई जनमत पार्टीका अध्यक्ष राउतले कारबाही गरी निष्कासन गरेका थिए। यसअघि उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा पनि केही नेताले जनमत पार्टी त्यागेका थिए। उनीहरू हाल नवगठित जनस्वराज पार्टीमा प्रत्यक्ष सहभागी नभए पनि निरन्तर संवाद भइरहेका दीपक साहले जानकारी दिएका छन्।
जनस्वराज पार्टीले व्यक्तिवादभन्दा सामूहिकता, पदभन्दा जिम्मेवारी र जवाफदेहिता, विभाजनभन्दा एकता र समानतालाई आफ्नो मूल आधारका रूपमा प्रस्तुत गरेको छ। पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त र पारदर्शी राजनीतिक संरचना, स्थानीय स्वायत्तता, प्रत्यक्ष जनसहभागिता र कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो नीतिगत मार्गदर्शनका रूपमा अघि सारेको छ।