काठमाण्डौ ।मधेस प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ ।
जनकपुरधाममा शनिबार मधेस प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा ७ गते मंगलबारका दिन प्रदेश सभाको बैठक डाक्ने सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिएका हुन् ।
मधेस प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक मतका साथ सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए।
जेन-जी प्रदर्शनका क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण रु ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ ।
बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएको बताईएको छ ।