सन्ताेष प्रसाद तिवारी,
शंखरापुर,काठमाडौं ।
जनता नै बनाउँछन् देशको रूप,
तर किन फेरिन्छ रङ्ग–
जब मतपत्रको छातामुनि
बिसरिन्छन् भविष्यका ढुङ्गा–इँटा?
नेतासँग दोष छ, हो–
तर दोषको छायाँ
मतदाताको काँधमै आएर टाँसिन्छ,
जब पृष्ठभूमि नहेरी
गालीको गुञ्जनलाई मत बनाइन्छ।
देशले हेरेको छ—
खुट्टामा लड्दै उठ्ने साहसीहरू,
युद्ध, मोर्चा र धरातलबाट आएका
इमान, श्रम, साहस बोकेका मान्छेहरू,
तर किन उनीहरू जनताको नजरमा
धुलोझैँ उडेर हराइदिन्छन्?
अब त आँखाले देखोस्
हामीले रोपेकी गल्तीको बिउ—
फल भने सधैं तीतो नै पाउँदै छौं।
देश बन्छ चखेर होइन,
चयन गरेर—
चिनेर, बुझेर, जिम्मेवारीको रेखा कोरेर।
बहुदलीय बगैँचामा
बीउ त थुप्रै छन्–
तर रोप्ने हात
सचेत हुन जरुरी छ।
हेर, जात्रा होइन चुनाव,
न नारा, न गाली–
देश त त्यही पातझरभित्र
नयाँ पलुवा जोगाउने आँटमा बाँच्दछ।
आओ,
पुराना घाउ कुरेर नबसौँ,
नयाँ बिरुवा रोपी
गाेडमेल गर्न सिकौँ—
हामी बदलिए देश बदलिन्छ।
यही हो पहिचान–
नेपाली भएर
नेपालीपन जोगाउने प्रतिज्ञा।

