काठमाडौं सानुकाजि थापा १८बनेपा — पत्रकार तथा सामाजिक कार्यकर्ता राजन थापा एउटै दिन दुई प्रतिष्ठित सम्मान प्राप्त गर्दै दुवै क्षेत्रमा आफ्नो योगदानको उच्च मूल्यांकन गराएका छन्।
बनेपास्थित लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित ‘सातौं संस्करणको किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रममा थापालाई ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार – २०२५’ प्रदान गरिएको हो। प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडेल तथा फेसन प्रशिक्षक राज फैजुले प्रमाणपत्र र सम्मान प्रदान गरेका थिए। त्यसैदिन काठमाडौंमा आयोजित विशेष कार्यक्रममा थापाले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ I (MD ३२५), नेपालबाट “सहयोगी लायन” (Supportive Lion) सम्मान पनि प्राप्त गरे। यो सम्मान जिल्ला गभर्नर लायन पार्वती खरेल पाण्डेले प्रदान गरेकी हुन्।
विगत एक दशकदेखि पत्रकारिता र समाजसेवामा सक्रिय थापा विकृति, विसंगति, संस्कृति, कला, राजनीति र जनहितका मुद्दाहरूमा खोजमूलक सामग्री प्रस्तुत गर्दै आएका छन्। उनी ओम समाज दन्त अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै देशभर “चौक–गल्लीदेखि स्कूल–स्कूलसम्म” निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा अग्रणी भूमिकामा छन्। गत वर्ष मात्र ७९ वटा स्वास्थ्य शिविर सञ्चालन गरेका उनले आगामी वर्ष १०० भन्दा बढी शिविर आयोजना गर्ने लक्ष्य राखेका छन्।थापाले यसअघि पनि सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन्, जसमा गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र पनि समावेश छ। थापाले दुवै सम्मानबारे आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भने “यो गर्वको क्षण मात्र होइन, अझ ठूलो जिम्मेवारीको संकेत पनि हो। साथ, विश्वास र प्रेरणा दिने सबैलाई हार्दिक धन्यवाद। यो ऊर्जा र प्रेरणाले मलाई अझ जोशका साथ पत्रकारिता र समाजसेवामा समर्पित रहन प्रोत्साहित गर्नेछ।”

