काठमाण्डौ । दिपा दाहालद्वारा लिखितको कथासंग्रह ‘विजयिनी’ सार्वजनिक भएको छ। विराटनगरमा शनिबार आयोजित एक कार्यक्रमबिच कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता विष्ट र लेखक दिपा दाहालले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै कवि तथा लेखक कुन्ता शर्माले ‘विजयिनी’ विचार र शिल्प दुवै कोणबाट उत्कृष्ट कथाहरूको सँगालो भएको बताइन्। उनले दिपा दाहालका कथाहरूमा समाजको दुरुस्त चित्रण भएको बताउँदै दहालले पहिलो कृतिमै गम्भीर लेखनको अभास दिएको भन्दै प्रशंसा गरिन्। शर्माले ‘विजयिनी’ का कथाहरूमा बीपीका कथाहरूमा जस्तै समाजको सूक्ष्म र रोचक चित्रण गरिएको उनको टिप्पणी छ।
उपप्राध्यापक डा. अस्मिता विष्टले दिपा दाहालका पात्रहरूले विभेद र हिंसाको यथास्थिति अस्वीकार गर्ने बताउँदै लेखकले पुरुष मनोविज्ञान र आदिवासी संस्कृतिसमेत रोचक तरिकाले प्रस्तुत गरेको बताइन्। युवा पाठकले नेपाली समाजमा महिलाको अवस्था बुझ्न पढ्नै पर्ने कृति विजयिनी भएको उनले उल्लेख गरिन्।
आफ्नी हजुरआमाले सुनाएका कथाले आफूमा लेखकीय भाव जागृत भएको बताउँदै लेखक दिपा दाहालले आफूले कथामार्फत समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताइन्।
कार्यक्रममा आरोहण गुरुकुल विराटनगरका कलाकार प्रदीप दहालले ‘विजयिनी’ को ‘दोसल्ला’ कथा वाचन गरे । ‘विजयिनी’ साङ्ग्रिला बुक्सद्वारा प्रकाशन भएको हो । यो कथाकार दहालको पहिलो कृति समेत हो।

