-जयराम बिडारी
काठमाण्डौ,माघ ७ गते ।
पेरोल साहित्य प्रतिष्ठान काठमाडौँको आयोजनामा त्रिपुरेश्वरस्थित बोगन भिल्लामा साहित्यकार लक्ष्मीदेवी राजभण्डारीको साहित्यिक योगदान र काव्यिक चेतमाथि केन्द्रित रही विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ समालोचक तथा साहित्यकार प्रा. डा. वासुदेव त्रिपाठीले राजभण्डारीको लेखनमा दार्शनिक गहिराइ र सौन्दर्यशास्त्रीय मूल्य उच्च रहेको बताउनुभयो ।
उहाँले थप्नुभयो, “लेखनाथ पौडेलले ‘तरुण तपसी’ मार्फत पूँजीवादी चिन्तनलाई भङ्ग गरे झैँ राजभण्डारीले पनि आफ्ना रचनामार्फत आत्मचिन्तनको स्थायी मार्ग रोज्नुभएको बताउनु भएको छ । उहाँको लेखन शैली रूपनारायण सिंह र रवीन्द्रनाथ ठाकुरको दार्शनिक उचाईको हाराहारीमा छ।” वहाँले राजभण्डारीलाई कञ्चनजङ्घाको काख (दार्जीलिङ) मा जन्मिएर सगरमाथाको सामिप्य (नेपाल) मा वैवाहिक जीवन गाँसिएका कारण उनका सिर्जनामा दुवै भूगोलको गहन भाव र चेतनाको संगम पाइने त्रिपाठीको तर्क थियो ।
उक्त कार्यक्रममा साहित्यकार राजभण्डारीका नेपाली भाषाको साहित्यिक रचना कविताहरुका विषयमा परिचर्चा गर्दै डा. हरि सिलवालले दार्जीलिङमा जन्मिएकी राजभण्डारीले नेपाली साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानको चर्चा गर्नुभयो। सिलवालका अनुसार लक्ष्मीदेवी राजभण्डारीका लेखनमा समाजलाई मार्गदर्शन हुने खालका सिर्जनाहरु रहेको बताउँदै आलोचनात्मक चेत प्रवाह गरिएको बताउँदै ज्ञान चक्षुको गहिराईमा अघि बढ्न वहाँका कविताहरुले सशक्त रुपमा मार्गप्रशस्त गरिएको पाइन्छ । समग्र मानव जातिका पीडा, सामाजिक मार्गदर्शन र मानवको शान्तिपूर्ण जीवनका आकाङ्क्षाहरूलाई सुललित रूपमा प्रस्तुत गर्ने शील्प अनुकरणीय भएको बताउनु भयो । यसैगरी राजभण्डारीले मदनमणि दीक्षितका कृतिहरूको समेत अनुवाद गर्नु भएको प्रसङ्ग उल्लेख गर्दै नेपाली साहित्यिक संघसंस्थाहरूले यस्ता ओजपूर्ण लेखन कर्ममा समर्पित स्रष्टालाई यथोचित स्थान दिन नसक्नु दुःखद रहेको बताउनुभयो ।
त्यस्तै, अंग्रेजी भाषा साहित्यका क्षेत्रमा सुप्रसिद्ध परिचर्चाकार केशव सिग्देलले राजभण्डारीका अंग्रेजी कविता संग्रहहरू ‘अन्टिल द ओसन’, ‘यु माई अल’ र बालकविता संग्रह ‘फ्रिस्की एण्ड स्वीटी’ माथि प्रकाश पार्नुभयो । सिग्देलले राजभण्डारीलाई ‘सिल्भर लाइनिङ अफ डार्क क्लाउड’ अर्थात् कालो बादलमाथि चाँदीको घेरा भने जस्तै चैतन्यको उज्यालो खोज्ने कवयित्रीको रूपमा परिभाषित गर्नुभयो। वहाँले लक्ष्मीदेवी स्वयम् नेपाली नेवारी र अंग्रेजी साहित्यमा समान रुपमा सशक्त रुपमा कलम चलाउन सक्षम साहित्यकारका रुपमा रहेको भन्दै वहाँले आफ्ना थुप्रै रचना नेपालीबाट आंग्रेजीमा अनुवाद गरी नेपाली साहित्यको आयतन विस्तार गर्नुभएकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।शुभकामना मन्तव्यका क्रममा श्रेष्ठले शनिवार आफ्ना दुई कृतिको विमोचनको तैयारीको चपेटामा परेर व्यस्त समयको बाबजुद कार्यक्रममा उपस्थित हुनुपरेको उल्लेख गर्दै यदि आफु यस कार्यक्रममा अनुपस्थित भएको भए महत्वपूर्ण अवसर गुम्ने अवस्था रहेको समेत बताउनु भयो ।
समारोहमा विमला अधिकारी र ललिता दोषीले राजभण्डारीका कविता वाचन गर्नुभएको थियो भने अञ्जना पौडेलले कविको ‘दीपशिखा’ कवितासङग्रहबाट र सन्दुश्रिया राजभण्डारीले अंग्रेजी कविता वाचन गरेर सुनाउनुभएको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै साहित्यकार राजभण्डारीले आफु लेख्न रहर गर्ने व्यक्ति भएपनि असल पाठक भएको बताउनुभयो । जीवनका कुनै चरणमा लेख्दै थन्क्याउँदै गरिएका आफ्ना सिर्जनाहरुले उपर्युक्त समय र वातावरणमा साहित्यिक क्षेत्रका मूर्धन्य व्यक्तित्वहरुको समुपस्थितिमा स्रोता पाठकका बीचको विमर्शले अपार हर्षित र अत्यन्त पुलकित बनाएको बताउनु भयो ।
कार्यक्रमको सभापति तथा गुञ्जन नारी साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठले राजभण्डारीलाई आफुले बहुआयामीक व्यक्तित्वको रुपमा बुझेको बताउँदै लक्ष्मीदेवीले निकै पछि नेवारी भाषा सिकेर पनि कौशलताका साथ नेवारी कविता सिर्जना गर्न सक्नु अद्भुत क्षमताको ज्वलन्त उदाहरण भएको बताउनु भयो ।
उक्त कार्यक्रममा साहित्यकार ललिता दोषी उपन्यासकार तथा कवि रुबि सत्याल,अन्जना पौडेल,बैरागी जेठा आल्फीफोहेन , मिशन अधिकारी,रश्मी रिमाल लगायत चार दर्जन साहित्यकार हरुको उपस्थिति रहेको थियो । प्रणव राजभण्डारीद्वारा स्वागत गरिएको कार्यक्रमको सहजीकरण पेरोल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष तथा झ्याउरे पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराई मञ्जरीले कुशलतापूर्वक गरिएको थियो ।

