काठमाडौँ। नेपाली साहित्यको प्रवर्द्धनमा सक्रिय ‘घुम्ती कविगोष्ठी नेपाल’ ले यस वर्ष तीन जना विशिष्ट साहित्यकारहरूलाई ‘काव्य सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ। संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो।

यस वर्षको ‘घुम्ती नालाङ्ग काव्य सम्मान २०८२’ बाट साहित्यकार विजयध्वज थापालाई सम्मानित गरिने निर्णय भएको छ । त्यस्तै, प्रा.डा. हेमनाथ पौडेललाई ‘घुम्ती रमा बद्री काव्य सम्मान २०८२’ र छन्द साधनाको लागि समर्पण गरिने ‘बलभद्र टंक छन्द काव्य सम्मान २०८२’ पुरुषोत्तम सिग्देललाई प्रदान गरिनेछ।
संस्थाका महासचिव रामकुमार पण्डित क्षेत्रीका अनुसार, वेदमणी घिमिरे संयोजक तथा त्रिलोचन आचार्य र निबन्ध आचार्य सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेका नामहरूलाई कार्यसमितिले अनुमोदन गरेको हो।
आगामी भदौ १४ गते शनिबार आयोजना हुने घुम्ती कविगोष्ठीको दोस्रो साधारण सभा तथा १५३ औं घुम्ती कवि गोष्ठी को अवसरमा सम्मानहरू समर्पण गरिने प्रतिभा छनौट समितिका सदस्यसमेत रहेका कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकका अध्यक्ष निबन्ध आचार्यले बताए ।

प्रत्येक सम्मानमा नगद दश हजार सहित सम्मान-पत्र समावेश हुने कोषाध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए।
घुम्ती कविगोष्ठीले हरेक पच्चीस शृङ्खला पूरा भएपछि ‘घुम्ती सम्मान’ अर्पण गर्दै आएकोमा, गत वर्षदेखि यसलाई वार्षिक कार्यक्रमका रूपमा सञ्चालन गर्न थालिएको हो । घुम्ती कवि गोष्ठी नेपालका पूर्व अध्यक्ष समेत रहेका साहित्यकार परशुराम पराजुली ‘परासर’ ले यसका लागि अध्यक्ष माधवलाल श्रेष्ठ, उपाध्यक्ष त्रिलोचन आचार्य र सदस्य विमल अर्यालले अक्षय कोष स्थापना गरेको बताए।
स्मरण रहोस्, घुम्ती कवि गोष्ठीले प्रत्येक महिनाको दोस्रो शनिबार फरक-फरक स्थानमा कवि गोष्ठी आयोजना गर्दै आएको छ। ‘रमा बद्री’, ‘बलभद्र टङ्क’ र ‘नालाङ्ग’ नाममा स्थापित यी पुरस्कारहरू घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, विमल अर्याल र त्रिलोचन आचार्यद्वारा प्रारम्भ गरिएका हुन्, जसले नेपाली साहित्यमा नयाँ पुस्ताका साथै स्थापित स्रष्टाहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखेका छन्।
घुम्ती कवि गोष्ठी नेपालले हालै मात्र १५२ औं शृंखला सम्पन्न गरेको छ ।

हरेक महिनाको दोस्रो शनिबार बिहान साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको यो संस्था गत बर्षबाट जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा आधिकारिक रुपमा दर्ता समेत भएको छ । घुम्ती कवि गोष्ठी नेपाल तेह्र बर्ष अघिबाट निरन्तर साहित्यिक गतिविधि गर्दै आएको संस्था हो ।
मिसन अधिकारीबाट

