काठमाडौँ – सङ्घीय संसद्को राष्ट्रिय सभाको बैठक आज (बुधबार) बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १:१५ बजे सुरु हुने कार्यतालिका तय गरिएको छ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची समेत रहेको छ।

