नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज हेटौंडामा मतदान हुँदैछ। बिहानैदेखि मतदाता नामावली, उम्मेदवारी दर्ता, र अन्तिम सूची प्रकाशनको प्रक्रिया तय गरिएको छ। मतदान दिउँसो २ देखि ३ बजेसम्म हुनेछ भने नतिजा आजै सार्वजनिक गरिने निर्वाचन समितिको जानकारी छ।
काठमाडौँ, १४ साउन – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदानदेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया आजै सम्पन्न हुनेछन्।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदाता नामावली बिहान ८ बजे प्रकाशित हुनेछ। त्यसपछि ८:३० देखि ९ बजेसम्म दाबी–विरोधको समय तोकिएको छ। उम्मेदवारले बिहान १० देखि ११ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् भने ११:३० बजे प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ।
उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म दिइएको छ। अन्तिम नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान प्रक्रिया दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ।
मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ। मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य गरिएको निर्वाचन समितिले जनाएको छ।
मतदान सम्पन्न भएपछि तत्कालै मतगणना सुरु हुनेछ र आजै नतिजा सार्वजनिक गरिनेछ। मंगलबार गठन गरिएको निर्वाचन समितिमा संयोजक श्रेष्ठसहित ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य रहेका छन् ।

