काठमाडौँ, १४ साउन – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको नयाँ नेतृत्व चयन भएको छ। हालै सम्पन्न निर्वाचनमा राजेन्द्र पुडासैनी अध्यक्षमा निर्वाचित भएका छन्। पुडासैनीले आफ्ना प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै विजयी भएका हुन्।
पुडासैनीले कुल १,४८२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी गोविन्द खरेलले ९७७ मत र मनिष खत्रीले ४९६ मत प्राप्त गरेका थिए।
अन्य पदहरूमा पनि नयाँ नेतृत्व चयन भएको छ।
उपाध्यक्षमा उज्ज्वल कार्की, डा. रक्षा थापा र रामप्रसाद कँडेल विजयी भएका छन् भने महासचिवमा दिवाकर पाण्डेले जितेका छन्। खुला सचिव पदमा डिएन खराल र कृष्ण देवकोटा विजयी भएका छन्।
सदस्यतर्फ विष्णु खरेल र छविलाल अर्याल विजयी भएका छन्। इङ्ल्याण्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापाले जित हात पारेकी छन्।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष पुडासैनीले आफ्नो नेतृत्वमा संघलाई “महसुस गर्न सकिने, देख्न र खोज्न सकिने संस्था” बनाउने लक्ष्य रहेको बताए।
उनले बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध बनाउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

