काठमाडौँ, १४ साउन – हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहँदा विभिन्न भूभागमा वर्षा भइरहेको छ।
महाशाखाले दिएको जानकारी अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीको अवस्था छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हाल हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा, पहाडी क्षेत्रहरूमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ। त्यस्तै, देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाले गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले त्यहाँ विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

