काठमाडौँ, १५ साउन – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल विदेशी दुग्धजन्य वस्तुको आयात भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिस्थापन गर्न देशभित्रै उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित नेपाल डेरी एशोसिएशनको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रमा प्रयोग हुने धेरैजसो डेरी सामग्री अझै पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए।
“हामीले विश्वस्तरीय मापदण्ड अनुरूप नेपालमै दुग्धजन्य वस्तुहरूको उत्पादन गर्न सक्नुपर्छ,” उनले भने, “यसले विदेशी आयातमा निर्भरता घटाउनुका साथै ठूलो मात्रामा बाहिरिन गएको नेपाली मुद्रा देशमै रोक्न सहयोग पुर्याउँछ।”
ढकालका अनुसार दुग्धजन्य उत्पादनको पर्याप्त र गुणस्तरीय आपूर्ति हुन सकेमा आयात घटाएर आत्मनिर्भरता हासिल गर्न सकिनेछ। उनले यस क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरकार र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए।

