काठमाडौँ, साउन १४ – नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मत कार्यलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधिको प्रयोग गरी सर्वेक्षण र नक्साङ्कन प्रक्रिया अघि बढाउने सहमति जुटेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाली पक्षको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।
बैठकमा सन् २०१९ को अगष्टमा देहरादूनमा सम्पन्न छैटौँ बैठकको निर्णय कार्यान्वयनको समीक्षा गरिएको थियो। साथै सोही वर्षको सेप्टेम्बरमा त्यहीँ आयोजित नापी अधिकारीहरू सम्मिलित प्राविधिक बैठकको कार्य प्रगतिबारे पनि छलफल गरिएको मन्त्रालयले जनाएको छ।
बैठक विविध सहमति र सहमतिपत्रमा हस्ताक्षर गर्दै सम्पन्न भएको छ। दुवै देशले नापी अधिकारीहरूको अर्को प्राविधिक बैठक आगामी महिना नेपालमा आयोजना गर्ने निर्णय गरेका छन्। साथै, सीमा कार्यदलको आगामी बैठक नेपालमै गर्ने सहमति पनि भएको छ, जसको मिति दुबै पक्षको सहमतिमा तय गरिनेछ।
सन् २०१४ मा स्थापना गरिएको नेपाल–भारत सीमा कार्यदल दुबै देशका सरकारहरूको संयुक्त संयन्त्र हो, जसले सीमा व्यवस्थापनसम्बन्धी प्राविधिक र समन्वयात्मक कार्यहरू अघि बढाउँछ ।

