तोमनाथ उप्रेतीले
चर्मको चमक मेटिन्छ,
अनुहारको तेज ढल्छ,
तर विचारको ज्योति,
शाश्वत दीपझैँ जल्छ।
सुन्दर नाक, छालाको रंग,
क्षणिक झिल्को, क्षणभंगुर तरंग।
बुद्ध र सुकरातको सत्य,
अनन्त सौन्दर्य—मनको गहिराइमा।
सिद्धार्थले छाडे दरबार,
लक्ष्मी—वैभव, मोहको संसार।
भित्री स्वरको खोजमा हिँडे,
आत्मज्ञानको बाटो टेके।
अष्टबक्रले भने—
“अज्ञानीले चर्म देख्छ,
ज्ञानीले आत्मा।”
सौन्दर्य दृष्टिमा होइन,
चेतनाको उज्यालोमा हुन्छ।
अनुहार क्षणिक,
विचार अमर।
देह ढल्छ,
तर विवेक स्थायी रहन्छ।
एकान्तमा बोल्ने अन्तरआवाज,
त्यो नै जीवनको दिशासूचक।
साससँगै मृत्यु नजिकिए पनि,
आत्मदृष्टि अमर रहन्छ।
सौन्दर्यको खोज अनुहारमा होइन,
करुणा, सत्य र विवेकमा गरौँ।
आओ, चर्मदृष्टिको बन्धन तोडौँ,
आत्मचेतनाको उज्यालो फैलाऔँ।