काठमाडौँ – तालिबान सरकारले अफगानिस्तानका विश्वविद्यालयहरूमा महिलाले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ। यससँगै मानवअधिकार र यौन उत्पीडनसम्बन्धी शिक्षालाई पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।
बीबीसीका अनुसार प्रतिबन्धित सूचिमा ६८० पुस्तक परेका छन्, जसमा मात्र महिला लेखकका १४० कृति समावेश छन्। ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता सामान्य पुस्तकसमेत हटाइएको बताइएको छ। तालिबानले यी पुस्तकहरूमा सरिया कानूनविरुद्धका विचार र आफ्ना नीतिविरुद्धका दृष्टिकोण रहेको आरोप लगाएको छ।
सरकारले विश्वविद्यालय तहमा १८ विषयलाई निषेध गरेको छ, जसमा ६ वटा सीधै महिलासँग सम्बन्धित छन्। प्रतिबन्धित विषयमा लिङ्ग र विकास, सञ्चारमा महिलाको भूमिका र महिला समाजशास्त्र जस्ता कोर्सहरू पनि छन्।
यो निर्णय तालिबानले चार वर्षअघि सत्तामा फर्किएपछि लगाएका लगातार प्रतिबन्धहरूको अर्को कडी हो। यसै सातामा सर्वोच्च नेताको आदेशमा कम्तीमा १० प्रान्तमा फाइबर–अप्टिक इन्टरनेट समेत रोक लगाइएको छ, जसलाई अधिकारीहरूले “अनैतिकता नियन्त्रण” गर्ने कदमका रूपमा व्याख्या गरेका छन्।
मानवअधिकार समूहहरूले भने यसलाई विशेषगरी महिलालाई शिक्षा, विचार र स्वतन्त्र पहुँचबाट वञ्चित गर्ने योजनाबद्ध रणनीतिको रूपमा आलोचना गरेका छन्। पछिल्ला प्रतिबन्धले अफगान विश्वविद्यालयहरूमा गहिरो संकट सिर्जना गरेको र समग्र उच्च शिक्षा प्रणालीमा गम्भीर असर पारेको बताइएको छ ।