काठमाडौँ – नेपाल फुटबल खेलाडी संघमा सदस्य थप भएका छन् । संग्जको वार्षिक साधारण सभाले कार्यसमितिमा नयाँ पदाधिकारी र सदस्य थप गर्दै विधान संशोधनसमेत पारित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न सभाले अन्जना राना मगरलाई उपाध्यक्ष, अनन्त तामाङलाई महासचिव मनोनित गरेको छ। यस्तै रुपेश केसी, एरिक बिष्ट र अन्जन विष्ट सदस्यमा चयन भएका छन्।
नव–पारित विधानअनुसार ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन पाउनेछन्। व्यावसायिक रूपमा प्रशिक्षणमा सक्रिय रहेका खेलाडीको सदस्यता भने स्वतः खारेज हुने व्यवस्था गरिएको छ। साथै ए, बी, सी डिभिजनका खेलाडीलाई पनि केन्द्रीय परिषद्मा मनोनयन गर्न सकिने प्रावधान राखिएको छ। यसअघि भने केवल सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र सदस्यता पाउने व्यवस्था थियो।
संघले नयाँ सदस्यता लिन इच्छुक खेलाडीका लागि एक महिनाभित्र फाराम भर्न आग्रह गरेको छ।
सभाले संघका पूर्वअध्यक्ष उपेन्द्रमान सिंह र राजेश मानन्धरलाई सम्मान गरेको छ। उद्घाटन सत्रमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र संघका अध्यक्ष विक्रम लामाले उनीहरूलाई सम्मान गरेका हुन्।
नेम्वाङले खेलाडी संघलाई खेलाडीको हकहितका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरे। एक दशकसम्म संघको नेतृत्व गरेका सिंहले संघको दबाबकै कारण खेलाडीले खेल्ने अधिकार सुनिश्चित भएको भन्दै संघको योगदानलाई स्मरण गरे।
संघ अध्यक्ष लामाले खेलाडीलाई पर्न सक्ने समस्या समाधानमा संघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए। फुटबल खेलाडी संघ एन्फाको सदस्य संस्था हो। यसको पछिल्लो निर्वाचन २०७९ सालमा भएको थियो।