काठमाडौँ – लामो समय अनिश्चित नेपाल प्रिमियर लिग (एनपीएल) तोकिएको मितिमै हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्काले बिहीबार आयोजित कार्यक्रममा आगामी संस्करण समयमै आयोजना हुने स्पष्ट पारे।
फ्रेन्चाइज क्रिकेटको दोस्रो संस्करण मंसिर २ (नोभेम्बर १७) देखि पुस २८ (डिसेम्बर १३) सम्म हुने तय छ। तर, पछिल्लो ‘जेन–जी’ आन्दोलनका कारण मुलुक राजनीतिक अस्थिरतामा फसेपछि लिग स्थगित हुने आशंका गरिएको थियो। क्यानले घोषित एनपीएल ट्रफी टुरसमेत त्यसै कारण रोकिएको थियो।
वेस्ट इन्डिजविरुद्ध तीन ट्वान्टी–२० खेल्न यूएई प्रस्थान गर्न लागेको नेपाली टोलीको बिदाइ तथा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै महासचिव खड्काले भने, “देश थप अस्थिरतामा नगएमा, एनपीएल तोकिएकै समयमा हुन्छ।”
कार्यक्रममा पहिलो संस्करणका सबै आठ फ्रेन्चाइज टोलीका प्रतिनिधिहरू सहभागी थिए। खड्काले पहिलो दिनको खेलबाट हुने टिकट आम्दानी सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने घोषणा पनि गरे।
तर, पहिलो दिनमै कुन टोलीबीच खेल हुनेछ भन्ने विषयमा भने तालिका अझै सार्वजनिक गरिएको छैन।