काठमाडौं । जीवनलाई नृत्यजस्तै उत्साहले सजाएकी चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। तीन महिनादेखि फोक्सोको क्यान्सरसँग संघर्षरत उनको त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान साढे ६ बजे निधन भएको हो ।
चितवनकी स्थायी बासिन्दा सुवेदी एक महिनादेखि भेन्टिलेटरमा थिइन्। उनको आज (मंगलबार) अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ।
१२ वर्षको कलिलो उमेरमै खुट्टाको क्यान्सरका कारण देब्रे खुट्टा गुमाए पनि उनले एक खुट्टामै नृत्य गरेर आफ्नै पहिचान बनाएकी थिइन्। सीमाभन्दा परको आत्मबल देखाउँदै उनले “नृत्य भनेको शरीरभन्दा आत्माको उर्जा” हो भन्ने प्रमाणित गरेकी थिइन्।
सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक मात्र होइन, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका र इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता पनि थिइन्। उनको जीवन अनेक कठिनाइसँगको नृत्य र विजयको कथामात्र नभई नयाँ पुस्ताका लागि साहसको प्रेरणास्रोत समेत हो ।