काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन काठमाडौँको बानेश्वरमा आयोजित एक समारोहमा पण्डित सूर्यनाथ लुइटेल र पुण्यमाता लुइटेलको स्वर्ण विवाह उत्सव सम्पन्न हुनुका साथै स्रष्टा, समालोचक डा. रमेश शुभेच्छुका आठ साहित्यिक कृतिहरूको सामूहिक लोकार्पण गरिएको छ।
संयोगवश सोही दिन डा. शुभेच्छुको जन्मोत्सवसमेत परेकाले कार्यक्रम पारिवारिक उत्सव र साहित्यिक समारोहको संयुक्त रूपका रूपमा सम्पन्न भएको थियो।
हास्यव्यङ्ग्य स्रष्टा तथा ‘फित्कौली’का प्रधान सम्पादक नरनाथ लुइटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा.डा. वासुदेव त्रिपाठी सहभागी थिए। कार्यक्रममा डा. केदार न्यौपाने, प्रयागराज वाशिष्ठ, डा. गीता शिवाकोटी खरेल र डम्बर घिमिरेलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहको उद्घाटन प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी गरिएको थियो भने स्वागत मन्तव्य गीता सापकोटाले राखेकी थिइन्।

स्वर्ण विवाह उत्सवका अवसरमा दम्पतीले एक–अर्कालाई माला पहिर्याएपछि कार्यक्रम भावुक र उत्साहपूर्ण बनेको थियो। परिवारका सदस्यहरूले प्रार्थना–पत्र वाचन, सम्मान तथा शुभकामना अर्पण गरेका थिए। सो क्रममा वक्ताहरूले लुइटेल दम्पतीको सामाजिक योगदान र पारिवारिक मूल्यको प्रशंसा गरेका थिए।
कार्यक्रमको दोस्रो चरणमा डा. रमेश शुभेच्छुद्वारा लिखित आठ कृतिहरू—‘आँसु नदेऊ मलाई’, ‘हजुरबा’, ‘आमा…’ (दोस्रो संस्करण) तथा नयाँ कृतिहरू ‘आमा जन्मभूमिलाई’, ‘ढुङ्गा बन्न पाए’, ‘आफ्नो बाटो आफै खन्दै’, ‘राधेय–कौन्तेय’ र ‘मेरो गीत मेरै धुन’—लोकार्पण गरिएको थियो। कृतिहरू प्रमुख अतिथिसहित मञ्चासीन व्यक्तित्वहरूले संयुक्त रूपमा सार्वजनिक गरेका थिए।
स्रष्टा शुभेच्छुले जन्मोत्सव, स्वर्ण विवाह उत्सव र कृति लोकार्पण एकै दिन सम्पन्न हुनु सुखद संयोग भएको उल्लेख गर्दै उपस्थित सबैप्रति आभार व्यक्त गरे। प्रमुख अतिथि त्रिपाठीले लोकार्पित कृतिहरूको संक्षिप्त समीक्षा गर्दै शुभेच्छुको साहित्यिक योगदानको प्रशंसा गरे।
समारोहको समापनमा सभापति नरनाथ लुइटेलले पारिवारिक कार्यक्रमलाई गरिमामय बनाउन योगदान दिने सबैप्रति धन्यवाद ज्ञापन गरे।
कार्यक्रमको सञ्चालन स्रस्टा देबु लुइटेलले गरेकी थिइन्। उनी शुभेच्छुकी बहिनी तथा पण्डित सूर्यनाथ लुइटेल र पुण्यमाता लुइटेलकी सुपुत्री हुन् ।

