काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत मंगलबार कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ।
१९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन मात्र बनाउन सक्यो। यस जितसँगै ५ खेलमा दोस्रो सफलता हात पारेको चेन्नई एक स्थान माथि उक्लिँदै आठौँ स्थानमा पुगेको छ। उता, ५ खेलमा चौथो हार भोगेको कोलकाता प्रतियोगिताको पुछारमा रहेको छ।
कोलकाताको सुरुआत कमजोर रह्यो। फिन एलेन १ रनमै आउट भए भने सुनिल नरेनले १७ बलमा २४ रन बनाए। कप्तान अजिन्क्या रहानेले २२ बलमा २८, अंगक्रिस रघुवंशीले १९ बलमा २७ र रिंकु सिंहले ६ रन जोडे। क्यामरन ग्रिन खाता खोल्न नसक्दा टोली दबाबमा पर्यो।
रमनदीप सिंहले २३ बलमा ३५ रन बनाउँदा रोभमन पोवेल ३१ रनमा अविजित रहे पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्।
चेन्नईका नुर अहमदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए भने अंशुल कम्बोजले २ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो। सन्जु सामसनले ३२ बलमा ४८ रन बनाउँदै टोलीका लागि सर्वाधिक योगदान दिए। कप्तान रितुराज गायकवाड ७ रनमै आउट हुँदा आयुष महात्रेले १७ बलमा ३८ रन जोडे।
डेवाल्ड ब्राभिसले ४१ रन बनाउँदा सरफराज खानले २३ रनको योगदान दिए। शिवम दुबे १३ र जेमी ओभरटन ७ रनमा अविजित रहे।
कोलकाताका कार्तिक त्यागीले २ विकेट लिए भने वैभव अरोरा, अनुकुल रोय र नरेनले समान १–१ विकेट लिए।

