काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरोध गरेका छन्।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले स्वकीय सचिवका लागि हुने खर्चप्रति असन्तुष्टि जनाएका हुन्। साम्पाङका अनुसार स्वकिय सचिवलाई मात्र मासिक ३० हजार रुपैयाँका दरले पारिश्रमिक दिइए पनि मुलुकलाई ठूलो आर्थिक भार पर्नेछ।
उनले गणनासहित उल्लेख गर्दै महिनामा ८२ लाख ५० हजार रुपैयाँ, वार्षिक ९ करोड ९० लाख रुपैयाँ र पाँच वर्षमा करिब ४९ करोड ५० लाख रुपैयाँ खर्च हुने दाबी गरेका छन्।
साम्पाङले यस्तो खर्च अनावश्यक भएको संकेत गर्दै निर्णय पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सुशिला कार्की नेतृत्वको सरकारले सांसदले स्वकिय सचिव राख्ने व्यवस्था खारेज गरेको थियो ।

