काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।
कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलन आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिनेछ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक तथा आर्थिक अवस्थासम्बन्धी तथ्याङ्क सङ्कलन गरिने भएकाले यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ। गणनाअन्तर्गत उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थानका संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसहित १८ वटा क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिनेछ।
यसक्रममा दर्ता भएका वा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, रोजगारी दिने वा स्वरोजगारमा आधारित व्यवसाय, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी संस्थान, विद्यालय, अस्पताललगायतको विवरण संकलन गरिनेछ।
गणनाको पूर्वतयारी फागुन मसान्तमै सम्पन्न भइसकेको छ भने चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएको छ। ती कार्यालयहरू असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक गरिएको थियो।

