काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको नयाँ चरण आगामी केही दिनभित्र हुने बताएका छन्।
अलजजिराका अनुसार पाकिस्तानको परराष्ट्र मन्त्रालय स्रोतले इस्लामाबादले उक्त वार्ता आयोजना गर्ने प्रस्ताव गरेको जनाएको छ। दुई दिनभित्रै दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको छ।
गत सप्ताहन्तमा भने अमेरिकी प्रतिनिधिमण्डलका ‘अत्यधिक माग’ र ‘राजनीतिक इच्छाशक्तिको अभाव’का कारण कुनै सहमति हुन नसकेको इरानले जनाएको छ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्जिया विश्वविद्यालयमा आयोजित टर्निङ पोइन्ट यूएसएका रूढीवादी समर्थकलाई सम्बोधन गर्दै इरानसँगको जारी तनावबारे चर्चा गरेका छन्। उनले वाशिङ्टन र तेहरानबीच अझै पनि अविश्वास रहेको स्वीकार गर्दै यस्तो अवस्था “एकै रातमा समाधान हुन नसक्ने” बताएका छन्। यद्यपि, उनले सम्भावित वार्ताप्रति आशावादी रहेको धारणा व्यक्त गरेका छन्।

