काठमाडौँ । आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार दिनभर उपत्यकाको मौसम सामान्यतया बदली रहनेछ, यद्यपि बिहान भने आंशिक बदलीको अवस्था रहेको छ।
उनले दिउँसो २ बजेपछि बादलको मात्रा बढ्दै जाने र मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिए।
मौसमविद् पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा रातिको समयमा पनि वर्षा हुन सक्ने सम्भावना छ। उनका अनुसार आज उपत्यकामा वर्षा हुने सम्भावना करिब ६० प्रतिशत रहेको छ।
देशभरको मौसम अवस्था र वर्षासम्बन्धी अद्यावधिक प्रक्षेपण भने मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजेपछि मात्र सार्वजनिक गर्ने जनाएको छ।

