काठमाडौं, असार २०।
काठमाडौंको अनामनगरमा ‘सङ्गीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रविधि विज्ञ राजेन्द्र अर्यालले मुख्य प्रस्तुति दिँदै सूचना, सञ्चार, विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै कलाकार र स्रष्टाले भोगिरहेका चुनौती, अवसर तथा डिजिटल युगमा आफ्नो सिर्जनाको संरक्षण, प्रवर्द्धन र प्रभावकारी प्रयोगका विषयमा सरल र व्यावहारिक ढंगले प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागीहरूले प्रस्तुतिलाई अत्यन्त उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका थिए। कलाकार तथा स्रष्टाहरूले वर्तमान परिवेशमा प्रविधिसम्बन्धी ज्ञान र सीप अनिवार्य बन्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले सिर्जनाकर्मीलाई नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको उद्घाटन वरिष्ठ लोकगायक तथा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्, नेपालका अध्यक्ष बमबहादुर कार्कीले ब्यानर वाचनमार्फत गरेका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा सर्जक विष्णु खत्री, महासचिव तथा सर्जक बैगुण्ठ महत , जनसांस्कृतिक महासंघ का ईन्चार्ज चीरन पुन लगायत विभिन्न क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले कार्यक्रमको सफल आयोजनाका लागि सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्, नेपालप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता ज्ञानमूलक र समसामयिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए। साथै परिषद्को संस्थागत प्रगति र सिर्जनात्मक अभियानको सफलताको शुभकामना व्यक्त गरिएको थियो।

