काठमाडौँ । डिजिटल बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन–२०२६ सुरु गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले शुक्रवार एक विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरे। नेपालमा बैंकिङ क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्ने लक्ष्यसहित बैंकले गत वर्ष पहिलोपटक आयोजना गरेको ह्याकाथनको यो दोस्रो संस्करण हो।
प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गरी खुला आवेदनमार्फत उत्कृष्ट टोली छनोट गरिएको बैंकले जनाएको छ। दुई चरणमा सञ्चालन हुने आवासीय प्रतियोगितामा १४ टोली सहभागी छन्।
प्रतियोगिताको पहिलो चरणमा ३६ घण्टे निरन्तर कोडिङ हुनेछ भने दोस्रो चरण अनसाइट ह्याकाथनका रूपमा सञ्चालन गरिनेछ। सहभागी टोलीका लागि आवासीय व्यवस्था गरिएको छ र उनीहरूले लगातार ३६ घण्टासम्म कोडिङ गर्दै आफ्ना नवीन अवधारणाहरू विकास गर्नेछन्।
प्रतियोगीहरूले बैंकले निर्धारण गरेका विभिन्न विषय र विधामा केन्द्रित रही बैंकिङ सेवालाई अझ सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने समाधान प्रस्तुत गर्नेछन्।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत रेग्मीले ह्याकाथनले डिजिटल बैंकिङका सम्भावित नयाँ सेवाको विकास र यस क्षेत्रका चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनले प्रतियोगिताबाट उत्कृष्ट ठहरिने टोलीलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिए।

