काठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरिएको पाइएको हो। छविसपाथीभेरा गाउँपालिका–६ स्थित निर्माणका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको थियो।
बजेट तथा कार्यक्रमअनुसार उक्त रकमको निकासा, खर्च, लेखा व्यवस्थापन, लेखापरीक्षण र बेरुजु फर्छ्यौटको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो।
आयोगको अनुसन्धानबाट स्वीकृत लागत अनुमान रु ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागितातर्फ रु ११ लाख सात हजार ८९७ र कन्टिन्जेन्सी शीर्षकमा छुट्याइएको बजेटसमेतलाई बेवास्ता गर्दै निर्माण भएकोभन्दा बढी काम भएको देखाइएको पाइएको छ। अस्वाभाविक दर निर्धारण गरी तथा सम्झौताअनुसारको जनसहभागिता रकम कट्टा गरेर नक्कली बिल–भरपाईका आधारमा रु २२ लाख एक हजार ६६५ बराबरको रकम भुक्तानी गरिएको आयोगको दाबी छ।
आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध रु २२ लाख एक हजार ६६५ बराबरको बिगो मागदाबी गरेको छ।
त्यस्तै, छविसपाथीभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला र वडा नं. ६ का वडाध्यक्ष मोहनलाल विकविरुद्ध पनि सोही बराबरको बिगो मागदाबी गरिएको छ।
यस्तै, बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध समान बिगो असुलउपरसँगै कैद सजायको माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

