काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनलाई इरानले बुधबार मुक्त गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानस्थित मानार्थ महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावाससँग सम्पर्कमा छन्। सामाजिक सञ्जालमार्फत उनले झालाई इरानबाट स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
मध्यपूर्वमा तनाव सुरु हुनुअघि नै झा पक्राउ परेका थिए। दुबईस्थित एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनलाई तेल बोकेर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो।
दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा कार्यरत थिए। उनीसँगै केही भारतीय नागरिकसमेत पक्राउ परेका थिए।

