भक्तपुर । बिस्केट जात्राको सातौँ दिन बिहीबार ऐतिहासिक घटना घटेको छ। भक्तपुरमा पहिलोपटक महिलाहरूले मात्रै नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन्।
आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राअन्तर्गत सातौँ दिन पाँचतले मन्दिरबाट नकिजु अजिमाको रथ तान्ने परम्परा रहँदै आएको छ। यसअघि हरेक वर्ष पुरुषहरूले मात्र रथ तान्ने चलन रहे पनि यस वर्ष जात्रा व्यवस्थापन समितिले आह्वान गरेपछि महिलाहरूले मात्रै रथ तानेर नयाँ इतिहास रचेका हुन्।
नकिजु अजिमाको रथ तान्न हजारौँ महिलाको उल्लेखनीय सहभागिता देखिएको थियो। यसले परम्परागत जात्रामा महिला सहभागिताको नयाँ आयाम थपेको छ।
यसैबीच, वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि भैरव र भद्रकालीको रथलाई तानेर गःहिटीमा जुधाउने प्रचलनअनुसार जात्रा अघि बढाइएको छ। बिहीबार नै ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्रामा खट जुधाइएको छ।
जात्राको आठौँ दिन (शुक्रबार) सुगन जात्रा मनाइनेछ, जसमा स्थानीयले विभिन्न देवीदेवताका मन्दिरमा पुगेर पूजा–आराधना गर्ने प्रचलन छ। अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न गरिनेछ।

