काठमाण्डौ । कवि देवु लुईटेल साहित्य सदन नेपालद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम भएकी छन् । लुईंटेलको कविता मातृभूमि अर्चना विश्व कविता दिवसको अवसरमा आयोजित प्रतियोगितामा प्रथम भएको हो ।

विश्वभरबाट प्राप्त १ सय ७१ कवितालाई निबन्धकार एवम् समालोचक डा ज्ञानु अधिकारी र कवि खेम निरौलाको दुई सदस्यीय निर्णायक समितिले मूल्यांकन गरेको थियो । सर्वोत्कृष्ट पाँच कवितालाई शनिबार आयोजित कविता महोत्सवमा वाचनपछि प्रथम, द्वितीय र तृतिय घोषणा गरिएको हो ।
प्रतियोगितामा शिखरिणी छन्दमा रचित लुईटेलको कविता प्रथम भयो भने मोरङकी कवि शारदा भट्टराईद्वारा रचना गरिएको शार्दूलविक्रिडित छन्दमा रचित ‘झुक्दैन नेपाल यो’ कविताले द्वितीय स्थान प्राप्त गर्यो ।
प्रतियोगितामा सिन्धुपाल्चोकका कवि सुन्दर शिरीष, दैलेखकी कवि गरिमा पाण्डेय र चितवनकी कवि शान्ता अधिकारीद्वारा रचित मुक्त छन्द(गद्य)का कविताले त्रितीय स्थान प्राप्त गरे ।
शिरिषको कविता सभ्यताको शोकधून, पान्डेयको कविता यहाँ जन्माउनु छ नयाँ बुद्ध र अधिकारीको कविता आदिम हस्ताक्षर तृतीय भएका हुन् ।
तीस जना अतिथी कविका कवितावाचनको साथमा प्रतियोगी कविको वाचन पश्चात् निर्णायक डा ज्ञानु अधिकारीले निर्णय सुनाएकी थिईन् ।
साहित्य सदन नेपाल रामहिटी बौद्धमा शनिवार सम्पन्न कविता महोत्सवमा प्रतियोगिताको समापन भएको हो।

