काठमाडौँ । भारतका वरिष्ठ पत्रकार तथा लेखक मार्क टलीको निधन भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार दिल्लीको एक निजी अस्पतालमा ९० बर्षको उमेरमा उनको निधन भएको हो।
केही समय अघिदेखि बिरामी रहेका टली गत हप्तादेखि साकेतस्थित म्याक्स अस्पतालमा उपचाररत थिए। उनका नजिकका साथी सतीश ज्याकबले आइतबार दिउँसो उनको निधन भएको पुष्टि गरेका हुन्।
कोलकातामा जन्मिएका मार्क टलीले २२ वर्षसम्म बीबीसीको नयाँदिल्ली ब्युरो प्रमुखका रूपमा काम गरेका थिए। उनी प्रसिद्ध लेखकका साथै बीबीसी रेडियो ४ को कार्यक्रम ‘समथिङ अन्डरस्टुड’का प्रस्तोता समेत थिए।

टलीले १९८० को दशकमा खालिस्तानी उग्रवादी नेता जर्नेल सिंह भिन्द्रनवालेको चर्चित अन्तर्वार्ता लिएका थिए। पत्रकारिता र साहित्यमा योगदानको कदरस्वरूप उनलाई सन् २००२ मा नाइटको उपाधि प्रदान गरिएको थियो भने सन् २००५ मा भारत सरकारले पद्मभूषणबाट सम्मान गरेको थियो।
उनका चर्चित कृतिहरूमा ‘नो फुल स्टप्स इन इन्डिया’, ‘इन्डिया इन स्लो मोसन’ र ‘द हार्ट अफ इन्डिया’ रहेका छन्।

