काठमाडौँ — नेपाली साहित्यका प्रथम मौलिक दुखान्त नाटककार पहलमानसिंह स्वाँरको १४७औँ जन्मजयन्ती शनिबार टिकापुरमा सम्पन्न भयो। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको सहकार्य र देवकोटा साहित्य कला परिवार टिकापुरको आयोजनामा सम्पन्न कार्यक्रममा स्वाँरको साहित्यिक योगदानलाई भावपूर्ण रूपमा स्मरण गरियो।
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले पहलमानसिंह स्वाँरको कृतित्व र योगदानलाई संस्थागत रूपमा संरक्षण र प्रवर्धन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले स्वाँरले सुदूरपश्चिम मात्र होइन, सिङ्गो नेपाली साहित्यलाई विश्वसामु चिनाउने व्यक्तित्व भएको उल्लेख गर्दै प्रतिष्ठानले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाए।

पूर्व सांसद यज्ञराज पाठकले अछाममा जन्मिएका स्वारले साहित्यमार्फत सामाजिक चेतना र क्रान्तिको ढोका खोलेको बताउँदै राज्यले उच्च सम्मान दिनुपर्ने बताएका थिए।
स्वाँरका पनाति तथा वरिष्ठ अधिवक्ता चन्द्रभूषण सिंह स्वाँरले स्वर्गीय पहलमानसिंहले जातीय विभेद, पितृसत्तात्मक सोच र निरक्षरताविरुद्ध लेखनीलाई हतियार बनाएको स्मरण गरे। उनका अनुसार स्वाँरको लेखनले सुदूरपश्चिममा चेतनाको बलियो लहर फैलाएको थियो।
कार्यक्रम देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकार धनञ्जय तिमल्सीना, डा. योगेन्द्र बजगाईं, डा. चक्र अधिकारी, कण्ठराज गिरी, भीमराम चपाईं, कर्णबहादुर थापा लगायतका साहित्यकार तथा सामाजिक व्यक्तित्वहरूले स्वाँरको कृतित्वमाथि आ–आफ्नो धारणा राखेका थिए ।

पहलमानसिंह जयन्तीका अवसरमा आयोजना गरिएको विविध साहित्यिक प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि उपकुलपति डा. जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
समारोहमा साहित्यकार, प्राध्यापक, कलाकार, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा साहित्यकार धनञ्जय तिमल्सीना र प्रा. डा. मुकुन्द कलौनीले स्वाँरको व्यक्तित्व र कृतित्वमाथि आधारित कार्यपत्र प्रस्तुत गरेका थिए।

